तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट जडान गरिएको छ । गत पुष २७ गतेदेखि नै अस्पताल परिसरमा जडान गरिएको प्लान्टबाट उत्पादन पनि सुरु भएको अस्पतालका कार्यकारी प्रमुख डा.रामकुमार श्रेष्ठले बताए ।
उनकाअनुसार प्लान्टको दैनिक उत्पादन क्षमता एक सय सिलिन्डर हो । ‘अहिले भने अस्पतालको आवश्यकता अनुसार उत्पादन गरिरहेका छौं,’ कार्यकारी प्रमुख श्रेष्ठले भने ‘अस्पतालमै अक्सिजन उत्पादन थालेपछि पोखराबाट ल्याउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।’
उनले थपे ‘अब अक्सिजन आवश्यक पर्ने बिरामीका आफन्त अक्सिजन खोज्दै हिँड्नुपर्ने छैन ।’ अहिले अस्पताल संग सानो/ठुलो गरेर २ सय वटा अक्सिजन सिलिण्डर रहेको डा. श्रेष्ठ बताउछन ।
उक्त अक्सिजन प्लान्ट दुई करोड १८ लाख रुपैयाँमा अक्सिजन प्लान्ट निर्माण भएको अस्पतालका कार्यकारी प्रमुख डा. श्रेष्ठले जानकारी दिए ।
दोस्रो लहरको कोरोना तीव्र गतिमा फैलिएर संक्रमणदर उच्च विन्दुमा पुगेको बेला देशभर अक्सिजनको हाहाकार भएपछि संघीय सरकारको स्वास्थ्य मन्त्रालयले रहेको अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट पठाएको थियो । तर प्लान्ट जडानमा ढिलाई भयो ।
अस्पताल नजिक रहेको विद्युतको ट्रान्सफर्मरको क्षमता बढाउनुपर्ने भएकाले अक्सिजन जडानमा तीन महिना ढिलाई भएको कार्यकारी प्रमुख डा.श्रेष्ठले बताए । उनले भने ‘टेन्डर गरेर नयाँ ट्रान्सफर्मर जडान गर्दा अक्सिजन प्लान्टमा निर्माणमा केहि महिना ढिलाई भयो ।’
आइसोलेसन तयारी अवस्थामा
जिपीमा जिल्लाका स्थानीय तहले कोरोना संक्रमितका लागि छुट्टै आइसोलेसन भवन बनाइदिएका छन् । कोरोनाको ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएपछि आइसोलेसनलाई तयारी अवस्थामा राखिएको अस्पतालका कार्यकारी प्रमुख डा.श्रेष्ठले बताए ।
अस्पतालमा ३० बेडको आइसोलेसन छ । प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ । आइसोलेसनमा पाँच बेड आईसीयू र तीन बेड भेन्टिलेटर छ । अस्पतालकोआइसोलेसनमा पहिलो चरणको कोरोनामा २७७ संक्रमितले सेवा लिए । दोस्रो चरणमा २२२ जना संक्रमितले सेवा लिएको अस्पतालले जनाएको छ ।
अक्सिजन बिक्रि सुरु
हाल आवश्यकता अनुसार उत्पादन भइरहेको अस्पतालले जनाएको छ । अस्पतालमा उत्पादित अक्सिजन विक्रि समेत गरिने डा. श्रेष्ठले जानकारी दिए । उनका अनुसार अक्सिजन सिलिण्डर लिएर आउनेलाई भरेर पठाईएको छ । साथै हालको अवस्थामा बिरामीको अवस्था हेरर सिलिण्डर सहित अक्सिजन दिईएको उनले बताए । उनले भने ‘सानो १० लिटरको भर्न २ सय रुपैयाँ र ठुलो ४० लिटरको सिलिण्डर भर्न ५ सय रुपैयाँ लाग्छ । यदि सिलिण्डर नै लैजाने भए सानोको १० हजार धरौटी र ठुलोको १५ हजार धरौटी राख्नुपर्छ ।