तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारी गरी १३ जनालाई एकैपटक कोरोना संक्रमण देखिएको छ ।
सोमबार २ जना कर्मचारीमा संक्रमण देखिएपछि आज मंगलबार अन्य कर्मचारी र जनप्रतिनिधिलाई गरिएको एन्टिजेन परिक्षणमा थप १३ जनामा कोरोना संक्रमण देखिएको हो।
पालिकाका यतिधेरै कर्मचारी र जनप्रतिनिधिमा एकैपटक कोरोना संक्रमण देखिएपछि भोली माघ ५ गतेदेखि ९ गतेसम्म गाउँपालिका कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सार्वजनिक सेवाहरु बन्द गर्ने भएको छ । गाउँपालिकाले आज सूचना जारी गर्दै कार्यालयको सेवा बन्द रहने जानकारी दिएको हो।
नियमित रुपमा सार्वजनिक सेवा प्रवाहमा कार्यरत १३ जना पदाधिकारी तथा कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। गाउँपालिकाका अध्यक्षको मङ्गलबारको निर्णय अनुसार उक्त निर्णय भएको हो ।
सम्बन्धित व्यक्तिसँग सम्पर्कमा रहेका गाउँपालिकाका कर्मचारी तथा पदाधिकारी होम क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालयको सेवा स्थगित गरिएको बताइएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाहरुको मापदण्ड अनिवार्य पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।