तनहुँ । तनहुँको डुम्रे र छिमेकी जिल्ला लमजुङको बेँसीसहर जोड्ने लमजुङ जोड्ने सडक दुई लेनको बनाउन थालिएको छ । तनहुँको डुम्रे बजारदेखि छिमेकी जिल्ला लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।
उनले भने ‘डुम्रे बजारबाट २२० मिटरदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाउन थालिएको हो । राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने भएको छ ।’
इन्जिनियर अधिकारीका अनुसार १०/१० मिटर जमिनको लगतकट्टा भइसकेको छ भने अधिग्रहण गरिएमध्ये चौडाइ ११ मिटरमा सडकको संरचना बन्ने भएको छ । यसअघि तीन दशमलव ७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकामा अब सात मिटरको हुने उक्त आयोजनाले जनाएको छ । दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण गरिने भएको छ ।
अहिले सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायत निर्माण कार्य भइरहेको छ । आयोजनाका अनुसार सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्रे हुनेछ भने, कालोपत्रे सकिएपछि सडक रङ्ग रोगन गर्ने र किलोमिटर पोस्ट राखिने भएको छ ।
हालसम्म १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । आठ दशमलव आठ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले गत वैशाख २२ गते ठेक्का सम्झौता गरेको थियो ।
डुम्रे-बेँसीसहर सडक ४२ किलोमिटर रहेको छ । यस सडकको तनहुँको डुम्रेदेखि लमजुङको सिमाना पाउदी बजारसम्म २४ किलोमिटर छ । सडकका लागि भ्याट र पीएस बाहेक रु ७५ करोड ९४ लाख ९७ हजार लागत अनुमान गरिएकामा उक्त जेभीले रु ३८ करोड नौ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको थियो । पहिलो चरणको निर्माण सकिए लगत्तै सडकको अन्य कामसमेत अघि बढाइने बताइएको छ ।
तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको उक्त सडक लमजुङको बेँसीशहरसम्मको ४२ किलोमिटरसम्म पु¥याउन झण्डै १५ वर्ष लागेको थियो । विसं २०४६ मा ट्याक खुलेसँगै विसं २०५२ देखि सिङ्गल लेनको कालोपत्रे थालिएको थियो ।
सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । कालोपत्रे भए पछि समय समयमा मर्मत सम्भार हुन नसक्दा सडक जीर्ण बन्दै गएको स्थानीयवासीको भनाइ थियो । उक्त सडकमा दैनिक सयौँ सङ्ख्यामा साना तथा ठुला सवारीसाधन सञ्चालन हुन्छ । डुम्रे बेँसीशहरको उक्त सडक हुँदै हिमाली जिल्ला मनाङका बासिन्दासमेत आवतजावत गर्दै आएका छन् ।
यी सडक दुई लेन भई कालोपत्रे भए तीनै जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।