तनहुँ । तनहुँको व्यास नगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशबीच सोमबार द्विपक्षीय समझदारी सम्पन्न भएको छ ।
छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत तथा व्यवसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारीमा आवद्ध गराउने सम्बन्धमा नगरपालिका र सिटिइभिटीबीच द्विपक्षीय समझदारी भएको हो ।
उक्त समझदारी पत्रमा व्यास नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र सिटिइभिटीको तर्फबाट निर्देशक प्रमोदभक्त आचार्यले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीको अवधि ०८० असार मसान्त सम्म कायम रहनेछ साथै दुवै पक्षको आपसी सहमतिमा आवश्यक परिमार्जन सहित पुनः नवीकरण गर्न सकिनेछ बताइएको छ ।
मागमा आधारित छोटो अवधिको सीपमूलक तालिम प्रदान गरी सीपयुक्त जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास तथा उद्यम स्थापना र स्तरोन्नतिमा सहकार्य गर्ने, सीप सिकेका युवाहरूलाई व्यावसायिक उद्यम स्थापना र स्तरोन्नतिमा सहयोग गरी विदेश पलायनलाई न्यूनीकरण गर्न, स्वरोजगारको अवसर बृद्धि गर्न, वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतासँग जोडेर विदेशमा सिकेको सीप, अनुभव र पुँजीको स्वदेशमा नै सदुपयोग गरी स्वरोजगार बन्न सघाउन तथा युवालाई स्वरोजगार तथा रोजगारीका लागि आवश्यक समन्वय, संयोजन एवं सहजीकरण गर्ने जस्ता विविध उद्देश्यले द्विपक्षीय समझदारी गरिएको आर्चायले जानकारी दिए ।
श्रम बजारको माग, स्थानीय स्तरको आवश्यकता, युवाहरूको चाहना र क्षमता अनुसारका प्राविधिक तथा व्यावसायिक शिक्षा र सीपमूलक तालिम सञ्चालन गरी दक्ष प्राविधिक जनशक्ति तयार पार्ने उद्देश्यले नगरपालिकासँग सझेदारी गरेको सटिइभिटीका निर्देशक आचार्यले बताए ।
‘कोभिडका कारण स्वदेशमा रोजगारी गुमाइ बेरोजगार भएका, विदेशबाट फर्किएका र वार्षिक श्रम बजारमा आउने युवाहरूलाई प्राविधिक तथा व्यावसायिक सीप प्रदान गरी स्वरोजगार र उद्यमी बनाउन साथसाथै आफ्नै पेशा व्यावसाय सञ्चालन गर्न उत्प्रेरित गराउन सिटिइसिटीले विभिन्न योजना अघि सारेको छ जस अन्तर्गत यो पनि एउटा हो उनले भने ।
बिगतका वर्षहरुमा तालिम प्रदायक संस्था र रोजगारदाता संस्थाहरुबीच समन्वय नहुदाँ तालिमको प्रभावकारी नदेखिएकाले अब पालिका र परिषद् बीच समन्वय तथा सहकार्य गरी अघि बढ्न आवश्यक रहेको उनले बताए । व्यास नगरपालिकाले विभिन्न समयमा युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्दै आएको भएतापनि यसको प्रभावकारी न्युन हुँदा अपेक्षित नतिजा प्राप्त नभएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले बताए ।
विगत वर्षहरूदेखि नै सिटिइसिटीसँग कुनै न कुनै रुपमा सहकार्य हुदै आएको भएता पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्थामा यो द्विपक्षीय समझदारी गरिएको सिग्देलले जानकारी दिए ।
उक्त सम्झौता अनुसार सिसिइभिटीले सरोकारवाला संस्थाबाट पहिचान भई आएका पेशा तथा ब्यवसायहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने ,स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै अभिमुखीकरण, सीप विकास र क्षमता अभिबृद्धि जस्ता विविध तालिम सञ्चालन गर्ने, तालिमको क्रममा पाठ्यक्रममा व्यवस्था भए अनुसार प्रयोगात्मक अभ्यासका लागि स्थानीय स्तरमा रहेका सरकारी, गैह्र सरकारी, सहकारी, उद्योगी, व्यवसायी एवं रोजगारदाता संघ÷संगठनसँग समन्वय गर्ने, तालिमको गुणस्तर सुनिश्चितताको लागि नियमित अनुगमन, सुपरिवेक्षण तथा नियमन गर्ने, सहभागीले सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई आवश्यकता अनुसार सीप परीक्षण, स्तरीकरण र प्रमाणीकरण गर्ने , परिषदबाट लामो तथा छोटा अवधिका तालिम लिएका युवाहरूको अभिलेख राख्ने , नगरपालिका र अन्य सरोकारवाला निकायहरूका बीच नियमित समन्वय र सहकार्य गर्ने लगायतका काम गर्नेछ ।
त्यस्तैगरी नगरपालिकाको आवश्यकता, भूगोल र जनसंख्याको आधारमा जनशक्तिको पहिचान गरी तालिममा सहभागी हुने व्यक्तिको छनोट, सिफारिस र व्यवस्थापना गर्ने, स्थानीय तह भित्र सञ्चालन हुने तालिमको अनुगमन, मूल्याकन र समीक्षा गर्ने, तालिममा सीकेका व्यक्तिहरूलाई रोजगारी तथा आय आर्जनमा आवद्ध गर्नका लागि सहजकीरण गर्ने, पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काम गर्न तालिम प्राप्त व्यक्तिलाई पहिलो प्राथमिकता दिने, पालिकामा उपलब्ध स्रोत साधान र स्वीकृत कार्यक्रम अनुसार तालिमको प्रकृति र आवश्यकता अनुसार लागत साझेदारीका आधारमा तालिम कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने, युवाहरुलाई व्यवसाय गर्न सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धमा सिटिइभिटी र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयबीच भएको सम्झौता अनुसार सहुलियत व्याजदरका कर्जा उपलब्ध गराउन आवश्यक सहजिकरण गर्ने, उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्नको लागि रोजगार प्रदायक सस्थाहरूसँग समन्वय, सहकार्य लगायतको जिम्मेवारी हुनेछ ।
उक्त समझदारी पत्र हस्तान्तरणका अवसरमा उपप्रमुख मिरा जोशी, लेखा संयोजक हेमन्त गुरुङ, आइटी अफिसर विशाल पण्डित, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) गण्डकीका उपनिर्देशक जीवनप्रसाद भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
व्यास नगरपालिकाले पहिलो चरणमा कुक, पञ्चेबाजा, मोवाइल मर्मत, सिलाइ कटाइ लगायतका तालिम सञ्चालन गर्न कार्यपालिकाको बैठकबाट निर्णय समेत गरिसकेको छ ।