पोखरा । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्माले सोमबार गण्डकी प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा आन्तरिक मामिलामन्त्री विश्वकर्माले गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेका विभिन्न शाखा, मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिबारे जानकारी लिएका थिए ।
सो क्रममा उनले प्रदेश प्रहरी र प्रदेश सरकार एउटै सिक्काका दुईवटा पाटा भएको चर्चा गर्दै प्रदेश सरकार र प्रहरीको सम्बन्धलाई अझ बढी सुदृढ, सबल र प्रगाढ बनाई जनताको संविधानको रक्षा र पालना तथा नागरिकको जिवन रक्षाको लागि सबै निकाय गम्भीर हुनुपर्ने बताए ।
आत्महत्या, महिला तथा बालबालिका विरुद्ध हुने हिंसा प्रति राज्य अत्यन्तै संवेदनशील रहेको बताउँदै त्यस्ता हिंसा न्यूनिकरणको लागि गम्भीरतापूर्वक लिन समेत उनले उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिएका थिए ।
प्रहरी राज्य र समाजको अभिन्न अंग रहेको चर्चा गर्दै आन्तरिक मामिला मन्त्री विश्वकर्माले प्रहरीको साथ साथै नागरिकको भूमिकलाई समेत सहजता एवम् सफलताका साथ निर्वाह गर्न प्रहरी कर्मचारीहरुले सक्षमता प्राप्त गर्नेमा विश्वास व्यक्त गरेका थिए ।