तनहुँ । तनहुँका सुरेश आले मगर नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको उम्मेदवार बनेका छन् । आलेलाई प्रचण्डले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएका हुन् । गण्डकीमा सुरेश आलेमगर अन्य समूहबाट उम्मेदवार बनेका हुन् ।
माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यका उम्मेदवार चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । सोही अनुसार प्रचण्डले आज उम्मेदवारको टुंगो लगाएको उनको सचिवालयले जनाएको छ ।
यस्तै माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, र भरत सुनार (दलित), कर्णालीमा नरबहादुर विष्ट (अपांग/अल्पसंख्यक) र सुदूरपश्चिममा जगत पार्की (दलित)लाई उम्मेदवार चयन गरेको हो ।
गण्डकीमा तीन स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट आलेलाई उम्मेदवार बनाइएको छ । ‘लामो समय कम्युनिस्ट तथा माओवादी आन्दोलनमा होमिएँ । त्यसबाट केही उपलब्धिको रक्षा पनि गर्नु छ,’ ६८ वर्षीय नेता आलेले भने, ‘पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाएको छ । पार्टी र जनताकै हितमा काम गर्ने छु ।’
२०३६ सालपछि नै राजनीतितर्फ आकर्षित भएका आले नेकपा मसाल हुँदै कम्युनिस्ट आन्दोलनमा जोडिएका थिए । मोटो मशालदेखि नै मोहन वैद्यसँगै एकता केन्द्र हुँदै नेकपा माओवादीमा लागे ।
आले माओवादी सल्लाहकार, वैकल्पिक हुँदै केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेका थिए । उनी हालै सम्पन्न महाधिवेशनबाट पनि केन्द्रीय सदस्य छानिएका छन् ।
आलेको यात्रा
तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस नेता गोविन्दराज जोशीको एकछत्र राज थियो । तीन पटक प्रतिनिधि सभा सदस्य र गृह, शिक्षा, स्थानीय विकास लगायतमा पटक पटक मन्त्री भएका जोशीको रजगज भएको क्षेत्रमा प्रतिस्पर्धीका रुपमा उभिए, सुरेश आलेमगर ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा जोशी र सुरेश आमनेसामने भए । संविधान सभाको निर्वाचन अघि नै गठित अन्तरिम व्यवस्थापिकाको सदस्य समेत रहेका आलेले जोशीलाई टक्करमात्रै दिएनन्, करिब सात हजार मतान्तरले जित हासिल गरे ।
जोशीलाई हराएर आएका आले पहिलो संविधानसभाको अवसानसँगै गुमनाम भए । त्यसको मुख्य कारण थियो, माओवादी विभाजित भएपछि आले रामबहादुर थापा ‘बादल’सँगै मोहन वैद्यको मोर्चामा उभिए ।
उनीहरुले दोस्रो संविधान सभाको निर्वाचन नै बहिस्कार गरे । वैद्यसँग पनि विभाजित भएर करिब तीन वर्षपछि नेता बादलले फेरि माओवादीसँगै एकता गरे । बादलसँगै आले पनि फेरि माओवादी केन्द्रमै फर्किए । माओवादी र एमाले एकीकरण भएर नेकपा बन्यो । नेकपामा विवाद हुँदा बादल ओलीतिर उभिए भने आले पनि दोधारमा थिए ।
ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत दिन सक्ने आश्वासन बादलले आलेलाई दिएका थिए र उनले प्रचण्ड रोजे । ‘बादलसँग लामो समय सहकार्य गरेको थिएँ । नेकपा विभाजनपछि बरु मन्त्री नै बनाउँला सँगै बसौं भनेर बादलले नै भन्नुभएको थियो,’ नेता आलेले भने, ‘माओवादी नेताहरुसँग पनि कुरा भयो । बादललाई साथ दिँदै के केपी ओलीको पछि लाग्ने भनेर प्रचण्ड नै रोजें ।’ -अनलाईनखबरको सहयोगमा