तनहुँ । तनहुँका ३८ हजार बालबालिकालाई कोरोना भाइरस विरुद्धको मोर्डना खोप लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा जिल्लाका स्थानीय तहले विद्यालयमा अध्ययनरत र अन्यगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन थालेको छ ।
जिल्लामा ३८ हजार ३७४ जना बालबालिका लक्षित रहेका छन् । जसमा ३७ हजार २५ जना विद्यार्थी र १ हजार ३४९ अन्य रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
खोप अभियान सञ्चालनका लागि सबै स्थानीय तहका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए । उनले भने ‘मोडर्ना खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरणसँगै खोप पनि दिएर पठाएका छौँ।’
१२ देखि १७ वर्षसम्मका बालबालिकालाई मंगलबारदेखि जिल्लामा खोप अभियान सुरु भएको कार्यालयले जनाएको छ । जिल्लाको बन्दिपुर गाउँपालिकामा मंगलबारदेखि खोप अभियान सुरु भएको खोप अधिकृत अधिकारीले बताए ।
खोप अभियान पौष ६ गतेदेखि १३ गते सम्म जिल्लामा संचालन हुने कार्यालयले जनाएको छ ।