तनहुँ । लायन्स क्लब अफ तनहुँ दमौलीले अंग्रेजी नयाँ वर्षमा ‘न्यु इयर इभ लाइभ कन्सर्ट’ गर्ने भएको छ । क्लबद्वारा व्यास-३ तरकारी लाईनमा संचालित लायन्स कपडा बैंकको सहयोगार्थ कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजु रानाले जानकारी दिए । विगत ४ वर्षदेखि कपडा बैंक क्लबले संचालन गर्दै आइरहेको छ ।
अंग्रेजी नयाँको अघिल्लो साँझ दमौली स्थित अनसनचौतारीको खुल्ला मैदानमा कन्सर्ट गर्ने क्लबले जनाएको छ । दमौलीबाट पोखरा जानेहरुलाई दमौलीमै रमाइलो गर्ने व्यवस्था गर्न कन्सर्टको आयोजना गरिएको क्लबका निवर्तमान अध्यक्ष सरोज भण्डारीले जानकारी दिए ।
उक्त कन्सर्टमा करिब २ हजार जनाको उपस्थित हुने अनुमान क्लबले गरेको छ । कन्सर्टको टिकट ५ सय रुपैयाँ राखिएको क्लबका अध्यक्ष रानाले जानकारी दिए ।
कन्सर्टमा गायक सोनाम तोप्देन, द फ्रिक स्टिट व्याण्ड, गायिका रचना रिमाल, गायिका शोभा त्रिपाठी, लाइभ डीजे र स्थानीय व्याण्डको प्रस्तुति हुने आयोजकले जनाएको छ ।
सुरक्षाका लागी स्थानीय निकाय। जिल्ला प्रशासन र प्रहरीसंग समन्वय भएको आयोजकले जनाएको छ । कपडा बैंकलाई सहयोग संगै तनहुँलाई पर्यटकीय गतव्य बनाउने र स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्सहान गर्ने कार्यक्रमको उद्देश्य रहेको क्लबले जनाएको छ ।
कन्सर्टमा १५ लाखको कारोबार गर्ने र ३ लाख मुनाफा कमाउने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
क्लबले विभिन्न सामाजिक कामहरु विगतदेखि गर्दै आइरहेको छ । कोभिड महामारीको समयमा अक्सिजन कन्सन्ट्रेटर होस् या खाना अभावमा छटपटिएका व्यक्तिहरुलाई एक छाक खाना किन नहोस् विविध सामाजिक कार्यहरुमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।
क्लबद्वारा संचालित कपडा बैंकबाट दैनिक २० जनाबढीले कपडा लैजाने गरेको र हाल सम्म ७२ क्विन्टल कपडा वितरण भएको क्लबले जनाएको छ ।