तनहुँ । सरस्वती सदन माध्यमिक विद्यालयले स्थापनाको ५० वर्षको अवसरमा बिहिवार स्वर्ण जयन्ति समारोह सम्पन्न गरेको छ ।
तनहुँको भानु नगरपालिका–५ स्थित मैबलमा रहेको विद्यालयले भव्य रुपमा स्वर्ण जयन्ती मनाएको विद्यालयका प्रधानाध्यापक बाबुराम रानाभाटले जानकारी दिए ।
वि.स. २०२८ सालमा स्थापना भएको विद्यालयले बिहिबार स्वर्ण जयन्तीको अवसरमा जग्गा दाता, विद्यालयमा स्थापना कालदेखी सेवा गर्ने शिक्षक शिक्षिका, आर्थिक तथा भौतिक सहयोगदाता लगाएत करिब ५ सय भन्दाबढी लाई सम्मान समेत गरेको छ ।
स्वर्ण जयन्ती सम्पन्न गर्न विभिन्न संघ संस्था र व्यक्तिहरुको आर्थिक तथा भौतिक सहयोग रहेको मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार शाहीले जानकारी दिए ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त स्वर्ण जयन्ती सम्पन्न भएको हो ।
सो अवसरमा मन्त्री श्रेष्ठले शिक्षालाई उत्पादन संग जोड्नुपर्ने बताए । युवाहरु गाउँमा बसेर आर्थिक आर्जन तर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।
प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको मन्त्री श्रेष्ठले बताए । गण्डकी प्रदेश सरकार शिक्षालाई सर्वसुलभ बनाउन लागी परेको मन्त्री श्रेष्ठले जानकारी दिए ।
शिक्षालाइ सुधार्न अभिभावकको महत्त्वपूर्ण भुमिका हुने भएकाले घरबाट सुरुवात गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए ।
यस्तै सोही समारोहमा राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेले प्रविधिको युगमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्ने बताए । उनले भनिन ‘आजको युग विज्ञान र प्रविधिको युग हो ।’
बुधबार मंसिर २९ गते समेत विभिन्न कार्यक्रम भएको थियो । बुधबार भानु नगरपालिकाका प्रमुख उदयराज गौली प्रमुख अतिथि रहेका थिए ।
उनले सो अवसरमा बोल्दै नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
सो समारोहमा विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती देखाएका थिए ।
विद्यालयले स्वर्ण जयन्तीको अवसरमा स्मारिका समेत बनाएको छ । सो स्मारिका कार्यक्रममा विमोचन गरिएको थियो ।