तनहुँ । राष्ट्रिय सभाकी सांसद एवम् नेकपा (एमाले) की केन्द्रीय सदस्य भगवती न्यौपानेले सभामुखको धारणा सार्वजनिक नहुँदासम्म एमालेले संसद अवरुद्ध गरिरहने बताएकी छिन् ।
न्यौपानेको गृहजिल्ला तनहुँमा आयोजित एक पत्रकार सम्मेलनमा उनले नेकपा एमालेले निष्काशन गरेको १४ जना सांसदलाई सभामुखले कारबाही नगरेर पदीय दायित्व भुलेको बताएकी छिन् ।
सरकारले दल विभाजनसम्बन्धी अनुकुलको अध्यादेश ल्याउँदा सभामुख त्यसको मतियार बनेकाले देशमा अराजकता र अस्थिरताको अवस्था सृजना भएको उनले बताएकी छिन् ।
दलीय व्यवस्थामा नेकपा एमालेले दलीय ह्वीप उल्लंघन गर्ने सांसदलाई संसदमा कारबाहीको औपचारिक पत्र पठाइसेकेको समयमा समेत सभामुखले दल विभाजन नहुञ्जेल अड्काएर राजनीति गरेको न्यौपानेको भनाइ छ ।
‘देशमा अहिलेको समस्याका कारक सभामुख समेत हुन्, त्यसैले सभामुखले संसदमा चित्त बुझ्दो जवाफ दिनुपर्दछ,’ यनले भनिन्, ‘जबसम्म दिनुहुन्न, नेकपा एमालेले संसद अवरोध गरिरहन्छ ।’
फरक प्रसङ्गमा उनले अहिलेको शेरबहादुर देउवाको सरकार परमादेशबाट बनेकाले यसको वैधानिकता नभएको समेत बताएकी छिन् । सर्वोच्च अदालतमा भएको भौतिक आक्रमण र अराजकता त्यसैको प्रतिफल भएको सांसद न्यौपानेको दाबी छ ।
‘नेकपा एमाले यस मुद्दामा क्लियर छ, किनकी यसको समर्थन तथा विरोधको जड भनेकै अहिलेको सरकार हो,’ उनले भनिन्, ‘निश्चित व्यक्तिको बर्हिगमनले सर्वोच्चमा भएको बेथिति नरोकिने हुँदा प्रक्रियामा नै सुधार गर्नुपर्ने आवश्यकता छ ।’