काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१८ वर्षका बालबालिकालाई पुस ४ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेकुमार लालका अनुसार ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिइने छ । हिमाली जिल्लासहित ५७ जिल्लाका विद्यालयमै खोप केन्द्र तोकेर बालबालिकालाई खोप दिइने उनले बताए ।
यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाका बालबालिकालाई भने फाइजर खोप दिइने उनले बताए । डा। लालले भने, ‘फाइजर खोप छिट्टै आउँदैछ । यो खोप प्राप्त भएपछि फाइजर खोप अभियान सञ्चालन हुन्छ ।’
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार करिब १८ लाख बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने लक्ष्य रहेको छ ।
दाहालले भने, ‘हिमाली जिल्लाको हकमा १०० भन्दा बढी र अन्य जिल्लाको हकमा २०० भन्दा बढी विद्यार्थी भएको विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड बनाएका छौं । यही मापदण्ड अनुसार खोप केन्द्र निर्धारण गरेर बालबालिकालाई मोडेर्ना खोप दिन्छौं ।’ यो अभियान पुस १४ गतेमा सञ्चालन हुनेछ । दाहालका अनुसार आइतबारसम्म गरी झण्डै ३७ लाख डोज मोडेर्ना खोप प्राप्त हुनेछ ।
यी हुन् बालबालिकालाई फाइजर खोप दिइने जिल्लाहरु
यसअघि फाइजर खोपका लागि तोकिएका २४ वटा विशेषज्ञ अस्पताल रहेका जिल्लाका बालबालिकालाई फाइजर खोप दिइने दाहालले बताए ।
यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, सिन्धुली, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुराका गरी २४ वटा विशेषज्ञ अस्पतालबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप दिइएको थियो ।
राष्ट्रिय खोप सल्लाहाकार समितिले बढी जनघनत्व भएको र यसअघि फाइजर खोप अभियान सञ्चालन भएका जिल्लाहरुमा फाइजर खोप दिन सुझाव दिएको दाहालले बताए ।
फाइजर खोप अभियान सञ्चालनका लागि तालिम प्राप्त जनशक्तिको आवश्यक पर्ने, प्रयोगका लागि प्राविधिक हिसावले पनि मोडेर्नाभन्दा यो खोप अलि फरक भएकाले बढी जनघनत्व भएको र यसअघि नै प्रयोगमा आएका जिल्लामा लगाउने निर्णय भएको दाहालले बताए ।
फाइजर खोपको तुलनामा मोडेर्ना खोप दुर्गम जिल्लाहरुमा लैजान सहज हुने भएकोले पनि ५७ जिल्लाका बालबालिकालाई मोडेर्ना खोप दिने निर्णयमा पुगेको दाहालले बताए ।