तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पोखरेलले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको महाधिवेशन हुँदैछ ।
मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
यसपालि पार्टी केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने पोखरेलले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका छन्।
सो अवसरमा उनले भने ‘यसपटक जित र हारको प्रवाह नगरी केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु ।’
‘नयाँ पुस्तालाई ठाउँ दिन पनि केन्द्रिय सदस्यमा जान लागेको हो ।’ नेता पोख्रेलले भने ‘तलको ठाउँ युवालाई खाली गर्दै म केन्द्रमा जान लागेको हुँ ।’
पोख्रेल महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।
‘केन्द्रीय कार्यसमिति सदस्यमा मेरो उम्मेदवारी रहने संकल्पको घोषणा गर्दछु,’ उनले भनेका छन्।
विगतको १०औं महाधिवेशनदेखि केन्द्रिय सदस्यमा जान खोजेको तर पनि पटकपटक त्याग गर्नुपरेको नेता पोख्रेलले बताए ।
गिरिजाप्रसाद कोइराला र जिल्लाका नेता रामचन्द्र पौडेलको आग्रहमा त्याग गरेको उनले बताए ।