तनहुँ । शनिबार सम्पन्न नेपाली कांग्रेस तनहुँकाे अधिवेशनमा जिल्लाका तीन पालिकाको बहालवाला नगरप्रमुख (मेयर) नै कांग्रेस पदाधिकारीमा पराजित भएका छन् ।
आइतबार राति सकिएको मतगणना अनुसार जिल्ला सभापतिका उम्मेद्वार वैकुण्ठनाथ न्यौपाने, उपसभापतिका उम्मेदवारद्वय किसान गुरुङ र उदयराज गौली निर्वाचनमा पराजित भएका हुन् ।
न्यौपाने बहालवाला कांग्रेस जिल्ला सभापति एवम् व्यास नगरपालिकाका नगरप्रमुख हुन् । गुरुङ शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख हुन भने गौली भानु नगरपालिकाका नगरप्रमुख हुन् ।
सभापतिमा न्यौपानेलाई कांग्रेस नेता जितप्रकाश आलेले हराएका हुन् । आलेले ९५१ मतसहित जित हात पारेका हुन् । वैकुण्ठनाथ न्यौपाने ७८३ मत प्राप्त गरे सभापतिमा पराजित भएका हुन् । आलेले न्यौपानेलाई १६८ मतान्तरले जितेका हुन् ।
तनहुँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला हो । पराजित तीनै जना नगरप्रमुख कांग्रेस नेता पौडेल पक्षका हुन् ।
आले सभापति देउवा निकट हुन । नवनिर्वाचित सभापति आलेलाई केन्द्रीय सदस्यद्वय शंकर भण्डारी, गोविन्द भट्टराई, नेता ध्रुव वाग्ले लगायतको समर्थन रहेको थियो ।
वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन न्यौपानेलाई रहेको थियो ।
त्यस्तै उपसभापतिमा पनि पौडेल प्यानलका किसान गुरुङ र उदयराज गौली पराजित भएका छन् । किसान गुरुङले ८६६ मत प्राप्त गरे भने उदयराज गौलीले ७२१ मत पाए ।
उनीहरुलाई आले प्यानलका राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठले हराएका हुन् । उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठले ९०७ मत र देवकुमार श्रेष्ठले ८७६ प्राप्त गरी बिजयी भएका हुन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनमा १८१६ मध्ये १७८३ मत खसेको निर्वाचन अधिकृत फणिन्द्र कोइरालाले जानकारी दिए । जसमध्य तनहुँ क्षेत्र नं १ बाट ९ सय २५ मत र क्षेत्र नं २ बाट ८ सय ५८ मत खसेको थियो ।
यो पनि :
कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले विजयी: सचिवमा खनाल र अधिकारी, अन्यमा को-को?(मत सहित)