तनहुँ । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जितप्रकाश आले बिजयी भएका छन् । उनले ९५१ मतसहित जित हात पारेका हुन् । उनका प्रतिद्वन्दी वैकुण्ठनाथ न्यौपानेले ७८३ मत प्राप्त गरेका छन् । आलेले न्यौपानेलाई १६८ मतान्तरले जितेका हुन् ।
सभापतिमा पराजित न्यौपाने हालका सभापति र व्यास नगरपालिकाका प्रमुख हुन् ।
आले पार्टी सभापति शेरबहादुर देउवा खेमाबाट चुनावी मैदान आएका थिए भने न्यौपाने कांग्रसका नेता रामचन्द्र पौडेल खेमाबाट चुनावी मैदानमा आएका थिए । देउवा खेमाको नेतृत्व गृहजिल्ला तनहुँमा कांग्रेस नेता शंकर भण्डारीले गरिरहेका छन् ।
आलेलाई नेपाली कांग्रेसको केन्द्रिय सदस्यद्वय शंकर भण्डारीर गोविन्द भट्टराईका साथै आमन्त्रित सदस्य ध्रुव वाग्लेको साथ थियो । न्यौपानेलाई भने वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलको साथ थियो ।
योसंगै कांग्रेस नेता रामचन्द्र पौडेललाई आफ्नै गृहजिल्लामा धक्का लागेको छ ।
यसैगरी उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठले ९०७ मत र देवकुमार श्रेष्ठ ८७६ प्राप्त गरी बिजयी भएका छन् । उनिहरुका प्रतिष्पर्धी उदयराज गौलीले ७२१ र किसान गुरुङले ८६६ मत प्राप्त गरेका छन् ।
सचिवमा सर्वाधिक मत लक्ष्मीभक्त खनालले १०२० र सहदेव अधिकारी ८१२ मत प्राप्त गरी विजयी भएका छन् । उनीहरुका प्रतिष्पर्धी केशबहादुर सुनारले ७२७ र मोहन गिरिले ८०७ मत पाएका छन् ।
यसैगरी सहसचिवमा मिलन आलेले ९२० मत र परमेश्वर भट्टराईले ८५९ मतका साथ बिजयी भएछन् । उनिहरुका प्रतिष्पर्धी हुतमणि अधिकारीले ७७६ मत र धिरेस खनालले ७७४ मत पाएका छन् ।
शनिबार सम्पन्न जिल्ला अधिवेशनमा १८१६ मध्ये १७८३ मत खसेको निर्वाचन अधिकृत फणिन्द्र कोइरालाले जानकारी दिए । जसमध्य तनहुँ क्षेत्र नं १ बाट ९ सय २५ मत र क्षेत्र नं २ बाट ८ सय ५८ मत खसेको थियो ।