तनहुँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै तनहुँका कानुन व्यवसायीले धर्ना दिएका छन् ।
आइतबार नेपाल बार एशोसिएसनको आह्वानमा जिल्ला अदालत तनहुँको परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीशको राजीनामा माग्दै धर्ना दिएका हुन् ।
कानुन व्यवसायीले हातमा कालो पट्टी लगाएर जिल्ला अदालतमा धर्ना दिएका हुन् ।
तनहुँ जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष भानुभक्त सुवेदीले आन्दोलनलाई देशव्यापी बनाउँदै जाने बारको निर्णय अनुसार धर्ना थालिएको बताए ।
प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन चर्काउँदै देशव्यापी बनाएको छ । संवैधानिक नियुक्ति तथा सरकारमा समेत प्रधानन्यायाधीशले भागबण्डा माग गरेको समाचार प्रकाशमा आएसँगै बार एशोसिएसनले आन्दोलन चर्काएको हो ।
बार एसोसिएसनले १४ कात्तिकदेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।
















