तनहुँ । राष्ट्रिय जनगणनाका लागि तनहुँमा आजदेखि गणक खटाइदै छ । जिल्ला जनगणना कार्यालय तनहुँका अनुसार गणकलाई ४ दिने तालिम दिइसकेको र आज बिहिबारदेखि जनगणनाका लागी गणक खटाईएको कार्यालयले जनाएको छ ।
जनगणनाका लागि खटिने गणकलाई आवश्यक पर्ने सबै विषय वस्तुबारे तालिमका क्रममा सिकाइएको जिल्ला जनगणना कार्यालय तनहुँका जनगणना अधिकारी नन्दलाल सापकोटाले बताए ।
जनगणनाको कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गरी सम्पन्न गर्नका लागि १० स्थानीय तहलाई मध्यनजर गर्दै ५ वटा स्थानीय तहमा अस्थायी कार्यालय समेत सञ्चालन गरिएको सापकोटाले जानकारी दिए ।
जनगणना अधिकारी सापकोटाका अनुसार आज कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने जनगणनाको कार्यका लागि जिल्लामा ४ सय ९० जना गणकलाई खटाइएको बताए । गणकहरूबाट ९१ हजार घरपरिवारबाट विवरण सङ्कलन गरिने बताइएको छ ।
पहिलो चरणमा घरधुरीको सङ्ख्या, महिला पुरुष र अन्यको सङ्ख्या, वित्तीय पहुँचको अवस्था, कृषिबारे सामान्य विवरण सङ्कलन गर्ने र घर नम्बर राख्ने कार्य पूरा गरिएको जनगणना अधिकारी सापकोटाले जानकारी दिए । उनले भने ‘गणकहरूले विस्तृत विवरणसहित जाति, धर्म, संस्कृति, शैक्षिक योग्यता र आर्थिक गतिविधिका बारेमा समेत प्रश्न सोध्ने र विवरण राख्ने कार्य गर्नेछन् ।’
गणकमार्फत् प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोत, साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।
जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यस्तै बाटोघाटो, पुल, विद्यालय, उद्योगधन्दा, स्वास्थ्य सेवा, खानेपानी, बिजुली, सिँचाइ, खाद्यान्न आपूर्ति, बसोबासको व्यवस्था, विकास बजेटको बाँडफाँट, सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा र मानव विकास प्रक्रियामा पछाडि परेका समुदायको उत्थानका कार्यक्रम सञ्चालन गर्न तथा संविधानको मौलिक हकलगायत अन्य हकको कार्यान्वयन र मूल्याङ्कन गर्न आवश्यक तथ्याङ्क प्राप्त हुने हुँदा जनगणनाको महत्व छ ।
९१ हजार घरपरिवार सूचीकृत
जिल्लामा ९१ हजार घरपरिवार सूचीकृत गरिएको छ । जनगणनाको पहिलो चरणअन्तर्गत गत भदौ ३० देखि असोज १८ गतेसम्म गरिएको गणनामा जिल्लाका ९१ हजार घरपरिवार सूचीकृत गरिएको हो ।
पहिलो चरणअन्तर्गत १३० सुपरीवेक्षकले घरपरिवार सूचीकृत गरेको जिल्ला जनगणना अधिकारी सापकोटाले जानकारी दिए । विसं २०६८ को जनगणनाअनुसार जिल्लामा ७८ हजार ३०९ परिवार सूचीकृत गरिएको थियो भने तीन लाख २३ हजार २८८ जनसङ्ख्या थियो ।