
तनहुँ । तनहुँको बन्दिपुर क्षेत्रमा चितुवा छ्यास-छ्यास्ती भेटिएकाे भन्दै चितुवासँग सतर्कता अपनाउन डिभिजन बन कार्यालय तनहुँले अपिल गरेकाे छ ।
बन क्षेत्रमा झाडी बढ्दै गएकाेले चितुवाकाे बासस्थान पनि बढ्दै गएकाे र अहिलेकाे समय प्रजननकाे समय भएकाले पनि सचेतना अपनाउन भनिएकाे डिभिजन बन कार्यालय तनहुँका प्रमुख काेमलराज काफ्लेले बताए ।
साथै केही चितुवाकाे बच्चा जन्माई आहाराकाे खाेजीमा हिँड्ने समेत भएकाले याे समयमा चितुवासँग सतर्क रहनु पर्ने प्रमुख काफ्लेले जानकारी दिए ।
चितुवाबाट जाेगिन साँझ र बिहानकाे झिस्मिसे समयमा बाहिर नहिँड्ने, घर वरपर झाडी नराख्ने साथै चारै तर्फ उज्यालो बनाई राख्ने, बनमा घाँस-दाउरा गर्न एक्लै नजाने, बालबालिकालाई अभिभावक बिना हिँड्न नदिने, घर पालुवा जनवारलाई बनाईएकाे खाेर गाेठ बलियाे बनाउन समेत अनुराेध गरिएकाे सहायक बन अधिकृत अरुण पाैडेलले बताए ।