images
images
images

श्रम स्वीकृति हेटौंडाबाटै गर्ने व्यवस्था मिलाउँछु : श्रममन्त्री श्रेष्ठ

images

हेटौंडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार श्रम तथा रोजगार कार्यालय हेटौंडाको अनुगमन गर्दैै उनले वैदेशिक रोजगार, सामाजिक कोष, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम लगायतका विभिन्न कार्यक्रमका विषयमा देखिएका समस्या समाधानका लागि आफू लागिपर्ने बताए ।

‘अब वैदेशिक रोजगारीमा जानेहरुका लागि देशका अरु ठाउँबाट जसरी श्रम स्वीकृति लिने काम हेटौंडाकै कार्यालयबाट गर्ने व्यवस्था मिलाइने छ,’ मन्त्री श्रेष्ठले भने, ‘देशका बुटबल, जनकपुर, पोखरा, धनगढी लगायतका ठाउँबाट झैं यहाँबाट पनि अब श्रम स्वीकृतिको व्यवस्था गरिनेछ ।’

मन्त्री श्रेष्ठले स्थानीय तहलाई संघीयताको अनुभूति हुनेगरी सहकार्य गर्दै आफ्नो मन्त्रालयले काम गर्ने बताए । उनले श्रम कार्यालय हेटौंडाको समस्याबारे जानकारी लिँदै प्रदेशको राजधानीमा पहिलेको पूर्वाधार र कर्मचारी संरचनाले मात्रै नपुग्ने भएकाले यसको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए ।

‘कार्यालयको समस्याबारे जानकारी लिन पाइयो । मन्त्रालय अन्तर्गतका कामहरु देखिने गरी गर्छौं,’ मन्त्री श्रेष्ठले भने, ‘जे बोल्ने हो, त्यो गर्ने हो, गर्नसक्ने मात्र बोल्ने हो ।’

सो अवसरमा श्रम कार्यालय प्रमुख छन्दनारायण श्रेष्ठले कार्यालयको कार्य सम्पादन, समस्या र आगामी योजनाका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS