तनहुँ । तनहुँ व्यास नगरपालिकाले नगर क्षेत्रभित्रका ज्येष्ठ नागरिकको निशुल्क आँखा परीक्षण गराउन सुरु गरेको छ । नगर क्षेत्रभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी नगरपालिकाले कात्तिक ११ देखि १३ गतेसम्म शिविर सुरु गरेको हो ।
बिहीबार शिविरको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्धघाटन गरे । शिविरको उद्घाटन गर्दै प्रमुख न्यौपानेले नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सेवा पुर्याउने मनसायले स्वस्थ्य शिविर अन्तर्गत आँखा शिविर संचालनमा ल्याएको बताए । उनले थपे ‘सक्दो लाभ लिनुहुन सबैलाई आग्रह गर्छु ।’
पोखरास्थित हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा व्यास-२ स्थित बालमन्दिर माविमा उक्त शिविर संचालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
बिहिबार (कात्तिक ११ गते) वडा नम्बर १,२,३,४,५ का जेष्ठ नागरिकका आँखा परीक्षण गरिएको छ ।
आँखा शिविरपछि शल्यक्रिया गर्नुपर्ने ज्येष्ठ नागरिकको व्यास नगरपालिकाकै खर्चमा शल्यक्रिया गर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाले गत वर्षदेखि ज्येष्ठ नागरिकको ऑखा परीक्षण सुरु गरेको थियो ।
कात्तिक १२ गते वडा नम्बर ६,७,८,९,१० र कात्तिक १३ गते ११,१२,१३ र १४ का ज्येष्ठ नागरिकको आँखा परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।