
मनाङ । निरन्तरको वर्षाका कारण हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडकसमेत अवरुद्ध भएको छ । बेशीसहर-चामे सडकको दर्जनौ स्थानमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा सवारीसाधान बेशीसहरबाट सिधा आउजाउ गर्न सकेका छैनन् । उक्त सडकखण्डको नियालघारी, खोत्रो, मकैडाडा, बगरछाप, एक्लेभट्टी, तिमाङ, कोतो लगाएतका स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
अस्थाई पुलहरुमा खोलामा पानि बढेसंगै कोल्टे परेको र सवारी साधन चल्न सक्ने अवस्थामा नरहेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । उनले भने ‘मान्छे भने हिड्न मिल्छ ।’ उनले अगाडि थपे ‘आजबाट सडक विभागले बाटो सफा गर्न सुरु गरेको छ ।’
बाटो अवरुद्ध भएपछि मनाङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन् । पहिले गएका पर्यटक फर्किन थालेका छन् । मोटरसाइकलमा गएका पर्यटकले बढि समस्या पाएका छन् ।
प्रशासनद्वारा पर्यटकलाई तिलिचो र थोरङ्ला जान रोक
निरन्तरको वर्षा र भारी हिमपातका कारण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले अन्नपूर्ण पदमार्गअन्तर्गत थोरङ्ला र संसारकै बढी उचाइमा रहेको तिलिचो ताल जान रोक लगाएको छ । मौसम सुधार नभएसम्म पर्यटकलाई गन्तव्यतर्फ जान रोक लगाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले बताए ।
उनले भने, ‘अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजन सुरु भएसँगै थोरङ्ला र तिलिचो जाने पर्यटकको संख्या बढेको छ, तर निरन्तरको वर्षाका कारण माथिल्लो क्षेत्रमा हिमपात भएकाले दुर्घटनाको जोखिम बढेकाले पर्यटकलाई त्यसतर्फ जान रोक लगाइएको हो ।’
तिलिचो र थोरङ्ला जान आएका आन्तरिक पर्यटक र विदेशी पर्यटकले मनाङका होटेल भरिभराउ भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताए । उनले भने, ‘मौसममा खराबी आएकाले केही दिनका लागि पर्यटकलाई होटेलमै बस्न र मौसममा सुधार नआएसम्म नहिँड्न आग्रह गरिएको छ ।’
मौसममा सुधार नआएसम्मका लागि पर्यटकलाई माथिल्लो मनाङको माथिल्लो क्षेत्रमा जान रोक लगाइएको छ भने माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जहाँको त्यहीँ सुरक्षित अवस्थामा बस्न आग्रह गरिएको प्रजिअ आचार्यको भनाइ छ ।