किरण श्रेष्ठ, तनहुँ । स्थानीय सरकारको कार्यपालिकालाई सभाप्रति उत्तरदायी बनाउन, स्थानीय कानून निर्माण प्रक्रियालाई व्यवस्थित बनाउन तथा कार्यपालिकाबाट भएका कारवाहीको अनुगमन र मूल्याङ्कन गर्न आवश्यक निर्देशन दिनसमेत सक्ने गरी लेखा समिति गठन गर्नुपर्ने हुन्छ ।
तर तनहुँका दुई स्थानीय सरकारले भने लेखा समिति नै गठन गरेका छैनन । स्थानीय तह सभा सञ्चालक ऐनको धारा ३५ को उपधारा १ मा प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाको घिरिङ र देवघाट गाउँपालिकामा लेखा समिति गठन हुन नसकेको हो ।
यी बाहेक अन्य स्थानीय तह (८ वटा)मा भने समिति गठन भएका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा गाउँ तथा नगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न नियमावली बनाइ कुनै सदस्यको संयोजकत्वमा लेखासमिति गठन गर्न सकिने प्रावधान छ ।
उक्त ऐनलाई टेकेर गण्डकी प्रदेश सरकारले पनि स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि बनाएको थियो । गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्न निर्देशन दिइसकेको छ । स्थानीय तहमा लेखा समिति गठन गर्नेबारे विधेयक पारित भएसँगै लेखा समितिले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई यसको जिम्मेवारी दिएको छ ।
समितिले ऐनअनुसार स्थानीय तहमा लेखा समिति गठन भए/नभएको हेरेर अनिवार्य गठन गराउन कानून मन्त्रालयलाई निर्देशन दिएको थियो ।
जिल्लाको देवघाट गाउँपालिकामा अझै पनि लेखा समिति गठन नभएको गाउँपालिकाका सुचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए । यस्तै घिरिङ गाउँपालिका पनि अहिलेसम्म उक्त समिति गठन नभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले जानकारी दिए ।
व्यास नगरपालिकाकाको लेखा समिति संयोजकमा व्यास १४ का वडाअध्यक्ष काजिमान श्रेष्ठ रहेका छन् । उनका अनुसार आन्तरिक रुपमा बेरुजु घटाउने काम गरेको बताउछन । उनले भने ‘मासिक रुपमा खर्चको विवरण हेर्छौ ।’ सुधार गर्नुपने आर्थिक क्रियाकलापमा नगरपालिकालाई सुझाव पनि दिने गरेको संयोजक श्रेष्ठ जानकारी दिए ।
यस्तै भिमाद नगरपालिकाको लेखा संयोजकमा वडा नम्बर २ का वडा सदस्य भवानि शंकर लम्साल रहेका छन् । ठुला योजना अनुगमनमा उपप्रमुख संगै जाने र आवश्यक सुझाव दिने गरेको संयोजक लम्साल बताउछन् । बेरुजु घटाउन आन्तरिक रुपमा सहयोग पुर्रयाउने गरेको संयोजक लम्सालले जानकारी दिए ।
त्यस्तै बन्दिपुर गाउँपालिकाको लेखा समिति संयोजकमा ५ नम्बरका वडाअध्यक्ष धुर्व लामिछाने रहेका छन् । लामिछाने चालु आव बाट संयोजकका रुपमा आएका हुन् । उनका अनुसार गतवर्षको लेखापरिक्षण गण दिने निर्णय समितिको बैठकले गरेको छ । नयाँ भएकाले सिक्ने क्रममै रहेको संयोजक लामिछानेले बताए । उनले थपे ‘कमिकमजोरी सुधारेर समितिले एउटा ट्रयाक बानाउछौ ।’
यसअघि गाउँपालिकाको लेखा संयोजकमा बन्दीपुर ३ का वडाअध्यक्ष हस्त बहादुर जिसी रहेका थिए । यसअघि नियमावली नहुँदा बैठक समेत बस्न नसकेको उनि बताउछन ।
यस्तै शुक्लागण्डकी नगरपालिकाको लेखा समितिको संयोजकमा १० नम्बरका वडा सदस्य राजेन्द्र क्षेत्रि रहेका छन् । संयोजक क्षेत्रिका अनुसार कार्यविधि तयार पर्ने काम गरेको बताए । ‘आन्तरिक सुशासन र आर्थिक बेरुजुका विषयमा काम गरेका छौं । संयोजक क्षेत्रिले भने ‘तर लेखा समितिले दिएका सुझाव पूर्ण रुपमा नगरपालिकाले कार्यवन्यन गरेको छैन ।’
खरिद र अनुगमन एकद्वार प्रणाली हुनुपर्ने माग नगरपालिका समक्ष लेखा समितिले राखेको संयोजक क्षेत्रिले जानकारी दिए ।
यसैगरी म्याग्दे गाउँपालिकाको लेखा समिति संयोजकमा कार्यपालिका सदस्य बद्रिका भट्टराई छिन । बेरुजु नहुने गरे काम गर्न गाउँपालिकालाई सुझाव दिने गरेको संयोजक भट्टराईले बताईन । कागजी प्रक्रिया नपुगे भुक्तानी नदिन समेत गाउँपालेकालाई सुझाव लेखा समितिले दिएको छ ।
सहि गर्ने मात्रै काम
भानु नगरपालिकाको लेखा संयोजक रुद्रनिधि भण्डारी छन् । उनका अनुसार उनि र अन्य सदस्यको काम भनेको हिसाब मिलाउन सहि गर्ने मात्रै भएको संयोजक भण्डारी बताउछन । ‘बेरुजु निस्केपछि बोलाउछन, गएर सहि गर्छौ ।’ संयोजक भण्डारीले भने ‘हिसाब नमिले मात्रै हामिलाइ बोलाउछन ।’
यस्तै जिल्लाको आँबुखैरेनी गाउँपालिकाको लेखा समिति संयोजकमा कार्यपालिका सदस्य पुर्ण बहादुर आले छन् । उनका अनुसार समतिको कहिलेकाही बैठक हुने गरेको छ । खासै प्रभावकारी काम हुन नसकेको संयोजक नै बताउछन ।
लेखा समिति नै छैन
जिल्लाको दुई पालिकामा भने अहिलेसम्म लेखा समिति नै गठन गरिएको छैन । जिल्लाको घिरिङ गाउँपालिका र देवघाट गाउँपालेका अहिलेसम्म लेखा समित नै गठन गरिएको छैन ।
किन अहिलेसम्म लेखा समिति गठन गरिएन भन्ने प्रश्नमा घिरिङ गाउँपालिका अध्यक्ष रन बहादुर रानाले अनविज्ञता प्रकट गरे । समिति गठन बारे पालिका अध्यक्षलाई नै जानकारी नभएको देखिएको छ ।
यस्तै देवघाट गाउँपालिकामा पनि लेखा समिति गठन नगरिएको गाउँपालिकाका सुचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए । सो विषयमा बुझ्दा गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले पनि समितिबारे अनविज्ञता प्रकट गरे ।
विपक्षलाई शुक्लागण्डकीमा मात्रै
शुक्लागण्डकी नगरपालिकाले मात्रै नगरप्रमुख निर्वाचित भन्दा फरक अर्थात विपक्षीलाई लेखा समितको संयोजक चयन गरेको छन् । अन्य ८ वटा स्थानीय सरकारमा भने प्रमुख जुन पार्टीबाट निर्वाचित भएका छन् सोही पार्टीबाट निर्वाचित जनप्नतिनिधिलाई लेखा समितिको संयोजक बनाइएको छ ।
पालिकाको विरुद्ध आवाज नउठोस भनेर सोही दलबाट निर्वाचित जनप्रतिनिधिलाई लेखा समितीमा राखेको विपक्षी दलबाट निर्वाचित जनप्रतिनिधि बताउछन ।
जिल्लामा व्यास र शुक्लागण्डकी नगरपालिकामा अन्य भन्दा केहि बढी लेखा समिति प्रभावकारी रहेको देखिन्छ । अन्य स्थानीय सरकारका लेखा समिति भने निन्द्रा मै रहेको देखिन्छ ।
















