images
images

अविरल वर्षापछिको विपद् : देशभर २७ जनाको मृत्यु, कहाँ के-केमा भयो क्षति

images

१३असोज, काठमाडौं । बङ्गालको खाडीबाट विकसित न्यून चापीय प्रणालीका कारण असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदनअनुसार बाढी, पहिरो र भारी वर्षाका कारण देशभर ५४२ वटा विपद्का घटना दर्ता भएका छन्।

यी घटनामा परी ४ जना बेपत्ता छन् भने ८ जना घाइते भएका छन्। विपद्बाट देशभर १,०८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

पहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति

प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मानवीय क्षति पहिरोका कारण भएको छ। देशभर गएका ३०४ वटा पहिरोका घटनामा मात्रै २० जनाले ज्यान गुमाएका छन् भने ४ जना बेपत्ता र ७ जना घाइते भएका छन्।

यसैगरी, ८७ वटा बाढीका घटनामा ४ जनाको मृत्यु भएको छ। भारी वर्षासँग सम्बन्धित १५१ वटा घटनामा ३ जनाको मृत्यु हुनुका साथै १ जना घाइते भएका छन्।

क्याम्प खडा गर्ने उद्देश्यले हिमलुङ हिमालतर्फ गएका २२ जना नेपालीको टोलीमध्ये हालसम्म ४ जनाको शव फेला परेको र हेलिकप्टरमार्फत हवाई खोज तथा उद्धार कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।

भौतिक संरचना र पूर्वाधारमा ठूलो नोक्सानी

लगातारको वर्षाले देशभरका भौतिक संरचना र सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ। प्राधिकरणका अनुसार विपद्मा परी २२७ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४२ वटा घरमा आंशिक क्षति पुगेको छ।

बाढीले देशभरका १० वटा पुलमा क्षति पुर्‍याएको छ। बागलुङमा कालीगण्डकी नदीको पुल बगाउँदा यातायात सम्पर्क विच्छेद हुनुका साथै विद्युत् र टेलिफोन सेवासमेत अवरुद्ध भएको छ। म्याग्दी जिल्लामा करिब ४०० मिटर सडक कटानमा परेको छ भने विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्।

कृषि र पशुपालनतर्फ पनि विपद्ले असर गरेको छ। देशभर ३१ वटा गोठ भत्किएका छन् भने ११४ वटा पशुचौपायाको मृत्यु भएको छ।

कस्तो थियो पूर्वतयारी, कसरी भइरहेछ उद्धार ?

जोखिमयुक्त क्षेत्रबाट करिब २,००० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। उद्धार कार्यमा जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बलका ४,३९५ र नेपाली सेनाका २६५ जना सुरक्षाकर्मी परिचालन गरिएको थियो।

म्याग्दी, जाजरकोट, हुम्ला, मुगु र दैलेखलगायतका दुर्गम जिल्लाहरूमा बाढी र पहिरोमा फसेका तथा गम्भीर घाइते भएका व्यक्तिहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो।

पूर्वतयारीस्वरूप प्राधिकरणले जोखिम सम्भावित क्षेत्रका नागरिकलाई लक्षित गर्दै करिब ९ लाख ८० हजार एसएमएस र पर्यटकहरूका लागि करिब ९ हजार अंग्रेजी भाषाका सूचना प्रवाह गरेको जनाएको छ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS