दमौली, २२ असार ।
व्यास नगरपालिका नगर कार्यपालिकाको २४० औं नियमित बैठक विभिन्न महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको उक्त बैठकले आवधिक योजना पारित गर्नेदेखि सुकुम्बासी समस्या समाधान र विपद् व्यवस्थापनसम्मका विभिन्न ७ बुँदे निर्णयहरू गरेको छ ।
नगरपालिकाका प्रवक्ता सुरेश थापाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार बैठकमा उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, १२ वडाका अध्यक्ष, कार्यवाहक वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
भूमिहीनलाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गरिने बैठकले व्यास नगरपालिका अन्तर्गतका वडा नं. १ देखि १४ सम्मका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको जग्गा नाप्ने कार्य सम्पन्न भइसकेको जानकारी दिएको छ । प्रक्रिया पूरा भएकामध्ये पहिलो चरणमा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाण–पूर्जा (लालपूर्जा) वितरण गर्न जिल्ला भूमि समस्या समाधान समितिलाई सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
बजेट र योजनाको समीक्षाः ६७.६५% प्रतिशत खर्च बैठकमा पूर्वाधार तथा योजना शाखाबाट प्राप्त आर्थिक वर्ष २०८२÷०८३ को प्रगति विवरण प्रस्तुत गरिएको थियो। जस अनुसारः
कुल तय भएका ९२५ योजनाहरू मध्ये ६५४ (७०.७०%) योजनाको कार्य सम्पन्न भएको छ ।
२४८ (२६.८१%) योजनाहरूको सम्झौता भएको छ भने २२ (२.४९%) योजनाहरू सम्झौता हुन बाँकी रहेका छन् । कुल १ अर्ब ७० करोड ४८ लाख ४ हजार ५ सय रुपैयाँ बजेटमध्ये १ अर्ब २८ करोड ५१ लाख ९७ हजार २०४ रुपैयाँ १७ पैसा आम्दानी भएको छ ।
कुल बजेटको ६७.६५ प्रतिशत अर्थात् १ अर्ब १५ करोड ३३ लाख १ हजार ९ सय ८६ रुपैयाँ २८ पैसा खर्च भएको छ (चालुतर्फ ८७.१७% र पुँजीगततर्फ ४२.७७%)।
विपद् व्यवस्थापन र सुरक्षामा चासो
हाल भइरहेको वर्षादको समयमा आउन सक्ने विपद्जन्य घटनाहरूलाई तत्काल सम्बोधन गर्न टोल विकास संस्था र विपद् उप–शाखालाई आवश्यक निर्देशन दिने निर्णय गरिएको छ । यसका साथै, नगरमा बढ्दै गएको चोरीका घटनाहरूका कारण नगरवासीमा असुरक्षा बढेको भन्दै सम्बन्धित निकायलाई चोरी नियन्त्रणमा विशेष कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने र नगरपालिकाले आवश्यक सहकार्य गर्ने निर्णय समेत बैठकले गरेको छ ।
सार्वजनिक सुनुवाई हुने
नगरपालिकाले आगामी २०८३ असार ३१ गते बुधबार बिहान ११ः३० बजे व्यास–१ स्थित दमौली सामुदायिक भवनमा तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।















