तनहुँ — सिद्धार्थ होटल दमौलीले आफ्नो स्थापना भएको २८औँ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक तथा प्रवर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरेको छ। वार्षिकोत्सवको अवसरमा होटलका कर्मचारीहरूले मंगलबार व्यास पराशर क्षेत्र प्रवेशद्वारमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए। त्यस्तै, बुधबार पराशर आश्रममा ज्येष्ठ नागरिकहरूलाई खाना खुवाउने कार्यक्रम आयोजना गरिने होटल व्यवस्थापनले जनाएको छ। साथै, शनिबार मादी नदीको दोभान क्षेत्रमा वृक्षारोपण कार्यक्रम आयोजना गर्ने तयारी गरिएको छ।
उत्सव अवधिभर होटलमा पाहुनाहरूले २८ प्रकारका विभिन्न परिकारहरूको स्वाद लिन पाउने व्यवस्था गरिएको छ। यस अवसरमा होटलले १५ प्रतिशतसम्मको छुटसमेत प्रदान गरेको होटलका व्यवस्थापक अभिषेक अर्यालले जानकारी दिए।पृथ्वी राजमार्गले छिचोलेको तनहुँको सदरमुकाम दमौलीको मेनचोकमा अवस्थित यो होटल काठमाडौंबाट करिब १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा पर्छ। होटलमा कोठाको दर न्यूनतम ५ हजारदेखि १५ हजार रुपैयाँसम्म रहेको छ। होटलमा अल–डे–डाइनिङ रेस्टुरेन्ट, बार रेस्टुरेन्ट र सिद्धार्थ क्याफे सञ्चालनमा छन्। होटल रहेको भवनमै क्यूएफएक्स सिनेमा हलसमेत रहेकाले आगन्तुकहरूले एउटै स्थानमा मनोरञ्जन र आतिथ्य सेवा प्राप्त गर्न सक्ने एपेक्स हस्पिटालिटीले जनाएको छ। सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जाल पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको छ। यस सञ्जालमार्फत दुई हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने दमौलीको होटलमा मात्र ४० जनाले रोजगारी पाएका छन्। नेपालका प्रमुख पर्यटकीय गन्तव्य पोखरा र बन्दीपुरको बीचमा रहेको दमौली धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य मानिन्छ। महर्षि वेदव्यासको तपोभूमि, मानुहुँकोट डाँडा, छाब्दीबाराही, तनहुँ कालिका र आदिकवि भानुभक्तसँग जोडिएको घाँसीकुवा जस्ता स्थलमा आउने पर्यटकलाई स्तरीय सेवा प्रदान गर्ने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको होटल व्यवस्थापनको भनाइ छ। होटलमा सुविधा सम्पन्न ३४ वटा कोठा छन्। त्यसका अतिरिक्त करिब १५० जना क्षमताको एउटा सभा हल र करिब ४० जना अट्ने दुईवटा हल रहेका छन्।
सिद्धार्थ ग्रुपको सुरुवात २०५४ सालमा कैलालीबाट भएको हो। सोही ग्रुपअन्तर्गत सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको व्यवस्थापनमा तनहुँको दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको हो। सिद्धार्थ हस्पिटालिटी अन्तर्गत पाँचतारेमा सिद्धार्थ विलासा, चारतारेमा सिद्धार्थ वैभव र तीनतारेमा सिद्धार्थ बाटिका ब्राण्डका होटलहरू सञ्चालनमा छन्। दमौलीको होटल सिद्धार्थ बाटिका ब्राण्ड अन्तर्गत पर्दछ। होटलको निर्माण एपेक्स हस्पिटालिटीले गरेको हो भने व्यवस्थापन सिद्धार्थ ग्रुपले गरिरहेको छ।













