तनहुँ
तनहुँको आँबुखैरेनीमा सोमबार पनि हाटबजार लाग्ने भएको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धी गणेश टोलको बसपार्क क्षेत्रमा सोमबारे हाटबजार सञ्चालन भएको हो । गाउँपालिकाले आज एक कार्यक्रमकाका वीच गाउँपालिका अध्यक्ष शुक्र चुमानले हाट बजारको शुभारम्भ गरे ।
यसले स्थानीय कृषकहरूलाई उत्पादन बिक्री गर्न र उपभोक्ताहरूलाई ताजा उत्पादनहरू प्राप्त गर्न मद्दत गर्नेछ। गाउँपालिकाले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न र कृषक तथा उपभोक्तालाई सहज बनाउन हाटबजारको दायरा फराकिलो बनाएको छ। गाउँपालिकामा प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुँदै आएको छ ।
अहिले आँबुखैरेनी–३ स्थित गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार सञ्चालन भइरहेको छ । गाउँपालिकाले कृषक र उपभोक्ताको मागलाई मध्यनजर गरी स्वदेशी उत्पादनलाई थप प्रवर्द्धन गर्न कृषिउपजको बजारीकरणका लागि हाटबजारको दायरा फराकिलो बनाउन लागेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
उनले भने– ‘हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषिउपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा साताव्यापी रुपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ ।’
गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानैदेखि भीड लाग्ने गरेको छ । विसं २०८० फागुनदेखि सञ्चालित हाटबजारले कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।
हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिब्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ ।
कृषक विमला गुरुङले हाटबजार कृषिउपज वस्तु बजारीकरणका लागि सहयोगी बनेको बताइन् । कृषक सुकमाया चेपाङले अन्य ठाउँमा गएर बिक्री गर्नुभन्दा हाटबजारमा ल्याएर बिक्री गर्दा एक रुपैयाँ भए पनि बढी मूल्य पाउने गरेको उल्लेख गरिन् ।
















