आँबुखैरेनी
आँबुखैरेनी गाउँपालिकामा भोली स्थानीय विदा घोषणा
आँबुखैरेनी
आँबुबेसी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा जेठ २१ गते स्थानीय विदा दिने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष शुक चुमानद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा नेपालको संविधानले प्रत्याभूत गरेको समता, समानता, सामाजिक न्याय, सहिष्णुता र समावेशी समाज निर्माणको मूल मर्मलाई आत्मसात गर्दै प्रत्येक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको रूपमा मनाउँदै आइएको उल्लेख गरिएको छ।
२०६३ साल जेठ २१ गते नेपाल सरकारले “जातीय छुवाछुत मुक्त राष्ट्र” घोषणा गरेको सम्झनामा सो दिवसलाई विशेष महत्वका साथ मनाउने गरिएको छ। सोही सन्दर्भमा गाउँपालिकाले २०८२ जेठ १९ गते सम्पन्न बैठकको निर्णय अनुसार जेठ २१ गते स्थानीय विदा दिने निर्णय गरिएको हो।
विदाको दिन गाउँपालिका भित्रका सबै कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा मानवसेवामा संलग्न अन्य निकायहरूमा विदा दिइनेछ। साथै, गाउँपालिकाले सो दिन विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी सामाजिक सद्भाव अभिवृद्धिमा सहयोग पुर्याउन आग्रह गरेको छ।
















