दमौली
तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसका बिद्यार्थीका लागि बस सेवा उपलब्ध गराउने भएको छ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, क्याम्पस प्रमुख भवदत्त शर्मा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा र आँबुखैरेनी क्याम्पसका स्ववियु अध्यक्ष निशान मगरले एक सम्झौता पत्रमा संयुक्त हस्ताक्षर गरी यही २०८२ वैशाख ७ गते आइतबारदेखि पालिकाले क्याम्पसका विद्यार्थीहरूका लागि बस सञ्चालनमा ल्याउने भएको हो ।
आँबुखैरेनी गाउँ पालिकाकै एक मात्र उच्च शैक्षिक संस्थाको रूपमा रहेको आँबुखैरेनी क्याम्पसका विद्यार्थीहरूले यातायातको समस्या भोग्दै आइरहेको र पालिकाको यस कार्यले उनीहरूको पठनपाठनमा निकै सहज हुने भएपछि विद्यार्थीहरू खुसी देखिएका छन् ।
तननहुँको आँबुखैरेनी गाउँपालिकाले शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै आएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार योजनाको सुरुआत गरेको छ । गाउँपालिकाले रुप फेर्ने, सिकाइ गुणस्तर, अनुगमन र प्रोत्साहन गरी चार वटा विषयलाई प्राथमिकता दिएको अध्यक्ष चुमानले जानकारी दिए । चुमानले भने, “हामी निर्वाचित भएर आएदेखि नै शिक्षाको गुणस्तर वृद्धिका लागि के गर्न सक्छौँ भनेर कार्ययोजना बनाएर लागेका छौँ । शिक्षाको गुणस्तर सुधारका लागि यसलाई मुख्य प्राथमिकता दिएका छौँ ।” रुप फेर्ने योजनाअन्तर्गत बाल विकासदेखि कक्षा ५ सम्मका सबै छात्र छात्रालाई निःशुल्क ट्रयाकसुट, झोला, जुत्तामोजा तथा टिसर्ट वितरण गरिएको छ ।
शैक्षिक सुधार अभियानअन्तर्गत विद्यालय भवनमा गर्नुपर्ने सम्पूर्ण मर्मत, छाना, फ्लोरिङ, रङरोगन, डेस्क बेन्च फेर्ने, नर्सरीदेखि कक्षा २ सम्म स्मार्टटिभी राखी सिकाइ सहज गर्ने र केही विद्यालयमा बस सेवा प्रदान गरेको छ । सिकाइ गुणस्तर योजनाअन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीको वार्षिक मूल्याङ्कन शिक्षण प्रतिवेदनअनुसार समस्याको पहिचान गरी समाधानतर्फ पालिकाले गरेको छ ।
















