आँवुखैरेनी
तनहुँ जिल्लामा नमुना काम गरेर चर्चामा आइरहेको गाउँपालिका आँवुखैरेनी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत पालिका भित्रका चार हजार भन्दा धेरै विद्यार्थीको वचत खाता खोलिने भएको छ । खोलिएको वचत खातामा पालिकाको तर्फबाट एक हजार रुपैयाँ राखिने गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
छात्रा वचत खाता कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत सबै बालबालिकाहरुको खाता खोल्न लागिएको हो । खाता खोलेपछि पालिकाले केही रकम वचतका रुपमा दिने, विद्यालयले छात्रवृति बैँक खाताबाट दिने कामका लागि सहज हुने अध्यक्ष चुमानले बताए ।
बालबालिकाहरुले चाडपर्वमा हुने आम्दानीलाई बैँकमा जम्मा गरेर दुख पर्दाका समयमा प्रयोग गर्न सक्दछन् । उनीहरुलाई आज खोलिएको बैँक खाता जीवन भर काम लाग्दछ अध्यक्ष चुमानले भने ।
यस कार्यक्रमका लागि पालिकाले बजेटको समेत व्यवस्थापन गरेको बताए । नपुग वजेटको पनि व्यवस्थापन गर्दै जान्छौँ । बालबालिकाहरुको बैँक खाता खोल्ने क्रममा विद्याललाई कागजपत्र जुटाएर सहयोग गरिदिन पालिकाले निर्देशन समेत गरिसकेको छ । पालिकाको दुरदर्शी योजनामा कुन बैँकले साथ दिन्छ सोही बैँकमा खाता खोलिने तर पालिका भित्रका सबै विद्यार्थीको खाता एउटै बैँकमा खोलिने अध्यक्ष चुमानले जानकारी दिए ।
यस अघि गत बर्ष गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का कक्षा १ देखि ५ सम्म सामुदायिक विद्यालयमा अध्ययनरत रहेका बालबालिकाहरुका परिवारको पारिवारीक स्वास्थ्य विमा गराएको थियो । वचत खाता भने वडा नम्बर १ देखि ६ सम्मका सबै सामुदायिक विद्यालयहरुमा सञ्चालन गर्ने कार्यक्रम रहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले बताइन् ।