तनहुँ
पर्यटन तथा उद्योग कार्यालय तनहुँको आयोजनामा विहिवार बजार अनुगमन गरिएको छ । पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीको संयोजकत्वमा जिल्ला बजार अनुगमन टोलीले व्यास नगरपालिका २ स्थित गणेशमान चोक क्षेत्रका मासुजन्य, होटल, किराना पसल, एग्रोभेट लगायतको अनुगमन गरेको हो । व्यास २ का २९ पसलको अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए । मासुजन्य पसल अनुगमनको क्रममा सरसफाईमा ध्यान दिनुपर्ने, फ्रिज सुधार गर्नुपर्ने लगायतका सुधार गर्नुपर्ने देखिएको उनले बताए । ‘अनुगमनको क्रममा एक होटलमा सडेगलेको मासु फेला परेपछि तत्काल हटाइएको हो,’ सुवदीले भने । कागजी प्रक्रिया नपुगेका पसललाई तत्काल प्रक्रियामा जान समेत आग्रह गरिएको उनले बताए ।
त्यस्तै केही पसलले विधिवत रुपमा दर्ता समेत नभएको अनुगमनको क्रममा भेटिएको कारण तत्काल नियम अनुसार जान आग्रह गर्दै नगए कारबाही गरिने सुवेदीको भनाई छ । ‘विधिवत रुपमा दर्ता नभएकोलाई विधिवत रुपमा दर्ता गर्न र फरक प्रकृतिको व्यावसाय गर्नेलाई नियम अनुसार गर्न आग्रह गरिएको छ तोकिएको समयमा नगरे कारबाही थाल्छौ,’ उनले भने ।
अनुगमनमा एउटै पसलमा फरकफरक प्रयोजनको बस्तुहरु व्यापार विक्री भएको कारण त्यसलाई हटाउनको लागि समेत आग्रह गरिएको थियो ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रतिनिधि, व्यास नगरपालिका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रतिनिधि, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रतिनिधि, तनहुँ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्नेगरी बजार अनुगमन गरिएको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिइने सुवेदीले बताए ।