
तनहुँ
व्यास नगरपालिका–२ गणेशमानचोक स्थित बन्दीपुरे कान्छा फ्रेस हाउसबाट खसीको मासु लगेर खाँदा पाँच जना बिरामी भएका छन् ।
जिल्लाको व्यास नगरपालिका–१३ निवासी ६५ बर्षका बलभद्र अधिकारीले मासु लगेर पकाएर खाँदा अधिकारी सहितका परिवार र छिमेकी बिरामी भएका हुन् ।
मंगलबार साँझ दुई जना र बुधबार बिहान तीन जना मासु खाएपछि बिरामी परेको बलभद्रका छोरा सृष्टी अधिकारीले जानकारी दिए । यसरी बिरामी पर्नेमा बलभद्रका बुहारी ३० बर्षीय निर्लजा अधिकारी,११ बर्षीय नाति कुशल अधिकारी,छिमेकी सूचना सुवेदी र निजका छोरा समर सुवेदी बिरामी भएका हुन् ।
बुबाले बुधबार साँझ खानासंग मासु खाएको करिब दश मिनेटमै बिरामी पर्नुभएपछि घरमा रुवाबासी चलेका कारण मासु नै नखाई बुबलाई उपचारमा लगिएकाले घरका दुई जना मासु खानाबाट जोगिएको उनले बताए ।
बुबाको प्रेसरको समस्या रहेकाले प्रेसरका कारण बिरामी पर्नुभएको होला भनि तत्कालै दमौली अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।
दमौली अस्पतालमा लगेपछि पोखरास्थित गण्डकी मेडिकल कलेजमा रिफर गरेपनि त्यहाँ पनि उपचार हुन नसक्ने बताएपछि अहिले काठमाण्डौं स्थित बाँसबारी न्यूरो अस्पतालमा लगेर उपचार भैरहेको छ ।
बुबाको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको छ । उनले भने,‘अन्य तीन जनाको दमौली अस्पतालमा उपचार हुन नसकेपछि गण्डकी अस्पतालमा रिफर गरी उपचार भैरहेको जानकारी पाएको छु ।’
बुधबार साँझ बुबा बलभद्र र नाति कुशलले मात्रै मासु खाना भ्याउनु भएको उनले बताए । साना छोराले खानासंगै मासु खाएपछि बान्ता गरेकाले औषधी खुवाएपछि निको भएको सो परिवारले जनाएका छन् ।
घरमा बाँकी रहेको मासु बुधबार बिहान थप तीन जना बिरामी परेपछि मासुका कारण बिरामी भएको खुलासा भएको उनले बताए ।
मासु खाएको करिब दश मिनेटमा बोली रोकिने,घाँटी सुख्खा हुने,बोली हालेपनि लरबराएर बोल्ने,शरीर लल्यालुलु हुने लगायतका लक्षण देखिएको छोरा सृष्टिले बताए ।
उक्त पसलको मासुको नमुना संकलन गरी परीक्षणको लागि लगिएको र रिर्पोट नआउँदासम्मको लागि पसल बन्द गरेको व्यास नगरप्रहरी सहायक निरीक्षक आशिक परियारले जानकारी दिए । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले अनुसन्धान गरिरहेकाले रिर्पोट आएपछि मात्रै थप कुरा बताउन सकिने उनले बताए ।