तनहुँ २३ फागुन
इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले सवारीसाधान चेकचाँज गर्ने क्रममा नगद र दुई थान मोबाइल सहित तीन सय एम्पुल लागूऔषध बरामद गरेको छ ।
पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको आबुखैरेनी गाउँपालिका–४ पुलजिपबाट रु।४९ हजार पाँच सयको साथमा मोबाइल र लागूऔषध समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
बीरगंजबाट पोखरा तर्फ आउदै गरेको ना ४ ख २५४९ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका–१८ निवासी १८ बर्षीय बिशाल सरावलाई पक्राउ गरेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
लागूऔषध कारोबारमा संलग्न जिल्ला चितवन भरतपुर महानगरपालिका–१२घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका–१५ मितेरीगाउँ बस्ने ४४ बर्षीय जितेन्द्र गुरुङलाई समेत नियन्त्रणमा लिइएको उनले बताए ।
दुवै जनालाई बरामद लागुऔषध सहित मंगलबार तनहूँ जिल्ला अदालत उपस्थित गराई पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।