दमौली १४ असार ।
दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ ।अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि अभिभावक सचेतना कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिए। सचेतनाले शैक्षिक विकासमा महत्वपूर्ण हुने भएकाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने उनले बताए । नियमित रुपमा विद्यालयमा आउने गरेको र समस्या गुनासो भएमा सिधा सम्पर्क गर्न उहाँले अभिभावकलाई आग्रह गरे । शैक्षिक क्रियाकलापमा अभिभावकको सहभागीको नारालाई सार्थक बनाउँदै अभिभावकसँग निरन्तर अन्तरक्रिया गरिने अध्यक्ष काफ्लेले प्रतिबद्धता व्यक्त गरे ।
अभिभावकलाई मनोविद डा.सिता भण्डारीले गाली गरेर भन्दा फकाएर, माया दर्शाएर बालबालिकाको मन जित्नु पर्ने बताए। । साथै उनले विद्यार्थीको रुची अनुसारको ऐश्छिक विषय रोज्न दिनु पर्ने बताइन् । ‘उनीहरुको मनोविज्ञान र क्षमता सुहाउँदो वातावरण सिर्जना गरेर रूचिको क्षेत्र पहिचान गरी पढ्नका लागि प्रेरित गर्नुपर्छ मनोविद डा.भण्डारीले भनिन् । विद्यालयका प्राचार्य एकबहादुर गुरुङले बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले अभिभावक सचेतना कार्यक्रम निकै आवश्यक विषयवस्तु भएको बताए । कार्यक्रममा करिब एक हजार अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल, सहायक प्रधानाध्यक अशोक गिरी लगायतले बालबालिकालाई मोबाइलमा नभुल, टिभीमा नहेर भन्ने तर अभिभावक टिभी र मोबाईलमा रमाउने गर्न नहुने कुरामा जोड दिए। साथै अभिभावक पनि किताब लिएर बस्ने हो भने बालबालिकालाई पनि पढ्न मन लाग्ने उनीहरुको जोड थियो ।
कार्यक्रममा मनोविद् डा. सिता भण्डारी, पूर्व शिक्षक लालप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिए। कार्यक्रम उपयोगी मूलक लागेको अभिभावक व्यास नगरपालिका–१२ निवासी बिना थापाले बताइन् । बालबालिकालाई फकाउने तरिकाले सिक्ने अवसर मिल्यो’ थापाले भनिन् । । आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । यो तनहुँमा सबैभन्दा धेरै पढ्ने विद्यालय हो । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययन गर्छन् ।