तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका ५ मा रहेको जिल्लाकै सबैभन्दा अग्लो स्थान छिम्केश्वरी डाडाँमा हिउँ परेको छ ।
गएराति देखि परेको अविरल वर्षासँगै आज बिहानदेखि छिम्केश्वरी डाँडामा हिउँ परेको आँबुखैरेनी-५ का वडाअध्यक्ष पञ्चबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार छिम्केश्वरीमा वर्षौ पछि हिउँ परेको हो । छिम्केश्वरी समुन्द्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाईमा छिम्केश्वरी मन्दिर अवस्थित छ ।
उनले भने ‘हिउँले यतिबेला छिम्केश्वरी डाडाँ सेताम्मे भएको छ ।’ वडाअध्यक्ष गुरुङका अनुसार छिम्केश्वरी मन्दिर भन्दा केही तल रहेको ठुल्ढङ्गा देखि माथि हिउँ परेको छ ।
‘बस्ती भन्दा माथि जंगल क्षेत्रमा हिउँ परेर डाँडा पुरै सेताम्य भएको छ ।’ वडाअध्यक्ष गुरुङले भने ‘केहि वर्ष अगाडी अलि अलि हिउँ पर्ने गरेको थियो तर योपटक धेरै नै परेर छिम्केश्वरी डाडाँ पुरै सेताम्य छ ।’
तस्बिर : सुर्यमान गुरुङ