
तनहुँ । अंग्रेजी नयाँ वर्षकाे उपलक्ष्यमा तनहुँकाे बन्दीपुरमा विविध साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्देश्यले विविध साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्षेत्रीय हाेटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए ।
बन्दीपुर पर्यटकिय क्षेत्र हाे र जिल्लाको पुरानो सदरमुकाम पनि हो ।
पहाडकी रानीको रुपमा परिचित बन्दिपुर विविध क्षेत्रबाट प्रख्यात रहेकाे भएपनि पछिल्लो समय काेभिड-१९ का कारणले यहाँको पर्यटन क्षेत्र शिथिल भएको अध्यक्ष प्रधानले बताए ।
अध्यक्ष प्रधानले भने ‘कोभिडले शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पनि हामीले अंग्रेजी नयाँ बर्ष बनाउन लागेका हाैं ।’
अंग्रेजी नयाँ वर्षकाे अघिल्लो साँझदेखी सुरु हुने कार्यक्रम ३ दिनसम्म चल्ने अध्यक्ष प्रधानले जानकारी दिए ।
उनलेे भने ‘जसमा हामीले स्थानीय स्तरबाट उत्पादन भएका परिकारहरूलाइ प्राथमिकता दिनेछाैँ ।’
तनहुँ जिल्ला भित्र र आसपासका पर्यटकहरूलाई पोखरा जान नपर्ने गरि बन्दिपुरमै रमाइलो गर्ने व्यवस्था गर्न कन्सर्ट समेत राख्ने याेजना बनाएको अध्यक्ष प्रधानले बताए ।
तनहुँलाई पर्यटकीय गन्तव्य बनाउने र स्थानीय कलाकार र संस्कृतिलाई प्रोत्साहन गर्ने कार्यक्रमको अर्को उद्देश्य रहेको प्रधानले बताए ।
बन्दीपुर पर्यटन बविकास समिति, उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई र क्षेत्रीय हाेटल संघ बन्दीपुर बजार इकाईकाे संयुक्त आयाेजनामा हुने सांस्कृतिक कार्यक्रममा “सडकमै खाऔं, सडकमै रमाऔं नारा” लाई मुख्य रूपमा राखिएको छ ।
बन्दिपुरका कलात्मक घरहरू, प्राकृतिक रमणीय वातावरण त्यसमै अर्गानिक खानाहरूले पर्यटकहरू खुसि बनाउने लक्ष्य लिएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।
नाचाैँ, खाऔं, रमाऔ, रमाइलो सांस्कृतिक कार्यक्रम हेर्न बन्दीपुर अवस्य आऔं, हामी तपाईहरूलाई स्वागत गर्न आतुर छाैं उद्योग वाणिज्य संघ बन्दिपुर सभापति घनश्याम उपाध्यायले भने ।