दमौली, २३ मंसिर ।
व्यास नगरपालिकाको बोर्ड बैठकले बिभिन्न निर्णय गरेको छ ।
बैठकले तनहुँ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको आठौ तनहुँ महोत्सवको लागि व्यासनगरपालिका कार्यालयले जग्गा उपलव्ध गराउने भएको छ । व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । महोत्सवका लागि स्थान उपलब्ध गराउन संघले माग गरेको सम्बन्धमा छलफल हुदाँ व्यास–४ र १० को सिमानामा रहेको माथिल्लो भतेरी उपलब्ध गराउने निर्णय गरेको हो ।
जग्गा व्यवस्थापन र यातायात मार्ग व्यवस्थापन गर्न नगरपालिकाले सहयोग गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । त्यसैगरी व्यासनगरपालिका कार्यालयले दुई वटा कार्यविधी र एक एक वटा निर्देशिका पारित गरेको छ ।
प्राथामिक विद्यालयका शिक्षक दरबन्दी मिलान सम्बन्धी स्वईच्छिक अवकास प्रोत्साहन वितरण कार्यविधि २०७८, अनुदान कोटामा शिक्षक नियुक्ति सम्बन्धी कार्यविधि २०७८, स्थानीय कृषि वजार व्यवस्थापन निर्देशिका २०७८, पारित गर्ने निर्णय गरेको हो ।साथै स्वईच्छिक अवकासका लागि २०७८ पौष मसान्त सम्म म्याद थप गर्ने समेत निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए ।नगरपालिका भित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्नका लागि आवश्यक कार्य अघि बढाउन नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीलाई जिम्मा दिने निर्णय गरेको छ ।नगरपालिका अन्तरगतका कर्मचारीहरुको तलब र अन्य सुबिधा सफ्टवेयर मार्फत गर्न गराउन लेखा शाखालाई जिम्मा दिने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७८÷०७÷३० मा जारी “करार सेवामा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन स्तर मुल्याङकन् तथा नयाँ अबधिको लागि करार संझौता सम्बन्धी मापदण्ड, २०७८ जारी गरिसकिएको छ ।नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको मुल्याङ्कन गर्न पुनरावलोकन कर्तामा प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम सिग्देल, समिति सदस्यमा बरिष्ठ इन्जिनियर राजु पौडेल, सुपरिवेक्षकमा बरिष्ठ अधिकृत रामचन्द्र हड्खले लाई तोक्ने निर्णय गरेको छ । साथै सम्बन्धित शाखाको प्रमुखलाई आमन्त्रीत सदस्यको रुपमा वैठकमा उपस्थित गराइने समेत निर्णय गरेको छ । नगरपालिकाको स्थानीय आर्थिक विकासका सम्भावनाहरुको अध्ययन प्रतिवेदन ३ महिना भित्र तयार गरि पेश गर्न कार्यालयलाई जिम्मा दिने निर्णय गरेको छ । व्यास नगरपालिका भित्रका विद्यालयहरुमा दरबन्दी कटौति गर्दै जाँदा विद्यालयमा कार्यरत शिक्षकहरुको दरबन्दी मिलान गर्नुपर्ने भएकोले विद्यार्थी कम भएका विद्यालय मर्ज गर्नुपर्ने देखिएकोले नगर प्रमुख, उप–प्रमुख र नगर शिक्षा अधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।व्यास न.पा भित्रका विद्यालयमा वार्षिक उत्सव गर्ने नाउँमा धेरै दिन विद्यालयमा पठन पाठन अबरुद्द हुने गरिएको पाइएको सो बैठकबाट ध्यानाकर्षण भएको जनाइएको छ ।
हरेक विद्यालयहरुले कोरोना महामारीको अवस्थालाई समेत मध्येनजर गरी तयारी एवं वार्षिक उत्सवलाई ३ दिन र वार्षिक उत्सव कार्यक्रम ३ घण्टा भित्र सामान्य तवरले सम्पन्न गर्नु गराउन शिक्षा शाखा मार्फत विद्यालयहरुलाई निर्देशन दिने निर्णय गरेको छ । विभिन्न वडाहरुबाट लागत सहभागिताका योजनाहरुको माग भईरहेकाले शहरी वडामा न्यूनतम ३०% र ग्रामिण वडाहरुमा न्यूनतम २०% लागत सहभागिता रहने गरी २० लाखका ५ र १० लाखका १० योजनाहरु रहेका छन् । कार्यालयको काममा बाधाँ नपर्ने गरि जनप्रतिनिधि र कर्मचारी भ्रमण प्रस्तावलाई व्यवस्थापन गर्न नगर उप–प्रमुख श्री मीरा जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।