दमौली,
तनहुँको बन्दिपुर गाउँपालिका ४ बिमलनगर स्थित चुनपहरामा ६ दिने साहसिक खेल रक क्लाइम्बिङ महोत्सव हुने भएको छ । यही पुस ७–१२ गते रक क्लाइम्बिङ महोत्सव हुन लागेको हो ।
बिमलनगर र यस आसपासको क्षेत्रलाई विश्वमै चिनाउने र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको बिमलनगर सिद्ध गुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए । यस्तो महोत्सव नेपालमै पहिलो पटक हुन लागेको हो उनले भने ।
गण्डकी अल्पाइन क्लब पोखराद्वारा उक्त महोत्सवको आयोजना गरिएको हो । एशियाली विकास बैंक एडिबीद्वारा पृथ्वी राजमार्गको मुग्लिन कोत्रे सडक खण्डमा ४ लेनको सडक बनाउने क्रममा चुनपहरालाई समेत भत्काउने प्रयास गरिएपछि त्यसलाई रोक्न र पर्यटन प्रबद्र्धन गर्नका लागि महोत्सवको आयोजना गरिएको हो ।
चुन पहरा बचाउ अभियानका अभियान्ता समेत रहेका श्रेष्ठले सडक विस्तारका क्रममा कुनै पनि हालतमा उक्त ठाउँको अस्तित्व मेटिन नदिने बताए । इन्टरनेशनल गाइडहरुले महोत्सवमा आउने आगन्तुकहरुलाई चट्टान आरोहरण गराउने छन उनले भने । त्यसका लागि आवश्यक सामग्रीहरु आयोजकले नै उपलब्ध गराउने बताइएको छ । गण्डकी अल्पाइन क्लबले सिद्ध गुफा विकास समितिसँग समन्वय गरी महोत्सव गर्ने भएको हो । पृथ्वी राजमार्गसँगै जोडिएको उक्त पहरामा आयोजित महोत्सवमा आन्तरिक एवं बाह्य पर्यटकहरुको ओइरो लाग्ने दावी आयोजकको छ । साहसिक खेलका रुपमा लिने चट्टान आरोहण गर्न चुन पहरामा पर्यटकहरुको संख्या समेत बढदै जान थालेको छ ।