
दमौली ,२८ कार्तिक
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ(आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।
आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।
सार्वजनिक बिदा
हरिबोधनी एकादशीको अवसरमा तनहुँका दुई नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदाको दिएका हुन् ।
व्यास र शुक्लागण्डकी नगरपालिकाद्वारा जारी विज्ञप्तीमा सोमबार नगरपालिका मातहतका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था(अति आवश्यक सेवा बाहेकका० र शैक्षिक संस्था बन्द हुने उल्लेख छ ।
हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशंखुनारायण, इचंगुनारायण र शेष नारायणमा विशेष मेला लाग्छ । तनहुुँका बिभिन्न धार्मिक स्थानहरुमा समेत केला लाग्ने गर्दछ ।
हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ ।
आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।