दमौली, १ कार्तिक ।
तनहँुमा हाल सम्म एक सय ८ वटा झोलुंगे पुल निर्माण भएका छन् । गण्डकी प्रदेशको पूर्वाधार विकास निर्देशनलयले दिएको तथ्याङक अनुसार गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वटा झोलुंगे पुल निर्माण भइकेका छन् ।
जसमध्ये तनहँुमा एक सय ८ पुल बनेका हुन् । तुइन लाई विस्थापित गर्ने सरकारको योजनाका साथ झोलुंगे प्ुल निर्माणलाई तिव्रता दिईएको प्रदेशका पूर्वाधार विकास निर्देशनलयलका निर्देशक नारायणप्रसाद बरालले जानकारी दिए । उनले भने, ‘प्रदेश सरकारले झोलुंगे पुल रणनीति बनाइसकेको छ । आवश्यक ठाउँहरुमा पुल निर्माण गर्न सकिन्छ,’ उनले अघि भने, ‘तत्काल आवश्यक पर्ने ठाउँमा प्रक्रिया अघि बढिहाल्छ । त्यहाँको माग र आवश्यक्ता हेरेर पुल निर्माण गर्छौं ।’
चालू वर्षमा थप डेढ सय झोलुंगे पुल निर्माण गर्ने प्रदेश सरकारेको योजना रहेको छ । ‘अहिले योजना छनौट भइरहेको छ ।,’ उनल भने , ‘पैदल हिँड्दा कम्तिमा १ घण्टा लाग्ने ठाउँमा पुल निर्माण गर्ने हो । खासगरी सडक पुल नभएका ठाउँमा झोलुंगे पुल राख्नुपर्छ ।’ योसँगै गण्डकीमा तुइन पूरै विस्थापित भएको छ ।
तनहँुमा रहेका दुई ठाउँमा तुइन भए पनि त्यो कामका लागि प्रयोगमा नरहेको र त्यहाँ झोलुंगे पुल पनि आवश्यक नरहेको उनले
बताए । हाल सम्म म्याग्दीमा दुई सय ४१ वटा ,लमजुङमा दुई सय आठ, कास्कीमा एक सय ८३, गोरखामा एक सय ६१, स्याङजामा एक सय ५६ पुल बनिसकेका छन् । यस्तै, पर्वतमा एक सय ५०, तनहुँमा एक सय आठ, नवलपर र मुस्ताङमा समान ६५÷६५ वटा तथा मनाङमा सबैभन्दा कम ६० वटा पुल निर्माण भएको निर्देशनलयले जनाएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा मात्र एक सय १५ वटा थप पुल निर्माण भएका छन् । २५ वटा पुलहरू प्रदेश सरकारको बजेटबाट बनेको छ भने संघ सरकारको बजेटबाट ८८ तथा पालिकाको बजेटबाट दुईवटा पुल बनेको हो । झोलुंगे पुल रणनीति २०६२ अनुसार स्थानीय स्तरमा झोलुंगे पुल निर्माण साविकमा जिल्ला विकास समितिबाट हुँदै आएकोमा अहिले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ ।
एक सय २० मिटरभन्दा लामा पुल प्रदेश सरकार र एक सय २० मिटरभन्दा छोटा पुल स्थानीय तहमा हस्तान्तरण भएका छन् । त्यसको मर्मत पनि सोही सरकारले गर्नेछन् । नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार नै स्वीस सरकारले ग्रामिण क्षेत्रमा पुल निर्माणका लागि सहयोग गर्दै आएको छ ।
नयाँ संरचनाअनुसार प्रदेश स्तरमा आएका पुलको मर्मत र निर्माणका लागि पुनः स्वीस सरकारकै टिवीएसयू संस्थासँग प्रदेशले सम्झौता गरेको
छ ।
स्थानीय पूर्वाधार विभागका कार्यक्रम निर्देशक कृष्णबहादुर कटुवाल, टिवीएस्यूका टीम लिडर बद्री श्रेष्ठ र गण्डकी निर्देशक नारायणप्रसाद बरालबीच त्रिपक्षीय हस्ताक्षर भएको हो ।