दमौली ।
सैनिक जीवनमा अनुशासन, जिम्मेवारी र देशसेवाको अनुभव संगालेका नवराज पौडेल अहिले सामाजिक तथा राजनीतिक यात्रामा नयाँ जिम्मेवारी लिने आकांक्षासहित अघि बढेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० व्यास नगरपालिका–१ का वडा सचिव रहेका पौडेल आगामी स्थानीय निर्वाचनमा व्यास नगरपालिका वडा नम्व १ को वडाध्यक्ष पदको उम्मेदवार बन्ने आकांक्षीका रूपमा देखिएका छन् ।
रास्वपाको स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहँदै आएका पौडेलले व्यास नगरपालिका–१ को वडाध्यक्षका लागि क्यान्डिडेट क्लबमा समेत आफ्नो उम्मेदवारी दाबी प्रस्तुत गरेका छन् । पार्टी संगठनमा सक्रियता, स्पष्ट विचार, सामाजिक कामप्रतिको रुचि र जीवनका विविध अनुभवलाई उनले आफ्नो राजनीतिक यात्राको आधार बनाएका छन् ।
तनहुँको साविक रिस्ती गाविस वडा नं।२ मा जन्मिएका पौडेल २०६७ सालदेखि व्यास नगरपालिका–१ स्थित निर्मल जनसुधार टोलमा बसोबास गर्दै आएका छन् । लामो समयदेखि यही क्षेत्रको सामाजिक परिवेशसँग जोडिँदै आएका उनले स्थानीय नागरिकको जीवन, समस्या र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर पाएका छन् ।
पौडेलको जीवनयात्रा केवल राजनीति र सामाजिक काममा सीमित छैन । २०५४ सालमा नेपाली सेनामा भर्ती भएका उनले करिब १६ वर्ष सैनिक सेवामा बिताए । २०७० सालमा सम्मानपूर्वक अवकाश प्राप्त गरेका पौडेलले सैनिक जीवनबाट अनुशासन, धैर्य, नेतृत्व क्षमता, जिम्मेवारीबोध र कठिन परिस्थितिमा निर्णय लिन सक्ने अनुभव हासिल गरेका छन् । सैनिक सेवाकै क्रममा उनले अन्तर्राष्ट्रिय स्तरमा समेत काम गर्ने र विभिन्न देशको सामाजिक, सांस्कृतिक तथा भौगोलिक परिवेश बुझ्ने अवसर पाए । बंगलादेश, पाकिस्तान, लेबनान, इजरायल, कङ्गो, बुरुण्डी, युगान्डा, केन्या, मलेसिया, सिंगापुर, थाइल्याण्ड, भारत र सुडानलगायत देशको भ्रमण अनुभवले उनको दृष्टिकोणलाई फराकिलो बनाएको छ ।
औपचारिक शिक्षामा पनि पौडेलको रुचि उल्लेखनीय छ । उनले राजनीतिकशास्त्रमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् । सैनिक अनुभव, उच्च शैक्षिक योग्यता र विभिन्न देशको अनुभवलाई समाजको हितमा प्रयोग गर्ने सोचसहित उनी सार्वजनिक जीवनमा थप सक्रिय बनेका छन् ।
राजनीति पदका लागि मात्रै होइन, जिम्मेवारीका लागि
रास्वपाको वडा संगठनमा सचिवको जिम्मेवारी सम्हालिरहेका पौडेल स्पष्ट वक्ताका रूपमा परिचित छन् । सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका उनी राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा जनताको सेवा, स्थानीय समस्याको समाधान र समाजमा सकारात्मक परिवर्तन ल्याउने माध्यमका रूपमा लिनुपर्ने धारणा राख्छन् ।
वडाध्यक्षको उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्दै क्यान्डिडेट क्लबमा दाबी प्रस्तुत गर्नु उनको राजनीतिक यात्राको नयाँ चरण हो । पार्टीभित्र उम्मेदवारका लागि अन्य नेताहरूले पनि दाबी प्रस्तुत गरिरहेका छन् । त्यसैले उम्मेदवार छनोटको प्रक्रिया र पार्टीको निर्णयले आगामी राजनीतिक यात्राको दिशा तय गर्नेछ । सैनिक जीवनमा देशको सेवामा समर्पित भएर बिताएको समय, अध्ययनबाट प्राप्त ज्ञान, विभिन्न देशको अनुभव र स्थानीय समाजसँगको सम्बन्धलाई अब जनप्रतिनिधिको भूमिकामा उपयोग गर्ने पौडेलको चाहना देखिन्छ ।
राजनीति परिवर्तनको कुरा गर्ने धेरै छन्, तर परिवर्तनलाई व्यवहारमा उतार्न अनुभव, इमानदारी, जिम्मेवारी र नागरिकप्रतिको संवेदनशीलता आवश्यक हुन्छ । सैनिक सेवाबाट अवकाशपछि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय बनेका पौडेलको वडाध्यक्ष बन्ने आकांक्षा पनि यही जिम्मेवारीबोधसँग जोडिएको छ ।
व्यास–१ को नेतृत्वका लागि पार्टीभित्र उम्मेदवारी दाबी प्रस्तुत गरेका पौडेलको आगामी राजनीतिक यात्रा कस्तो बन्ने भन्ने निर्णय पार्टीले गर्नेछ । तर, देशसेवाको अनुभवबाट स्थानीय सेवाको यात्रामा अघि बढ्ने उनको आकांक्षाले वडाको नेतृत्वका लागि नयाँ सम्भावनाको ढोका खोल्ने प्रयास गरेको छ ।















