images
images

दशैं बिदामा घुम्नैपर्ने गन्तव्य बन्दै तनहुँ झाँगाझोली

images

जडीबुटी उद्यान, हरियाली, वन्यजन्तुका आकर्षक मूर्ति र प्राकृतिक सौन्दर्यले पर्यटक लोभ्याउँदै

दशैं बिदामा परिवारसँग घुमफिर गर्ने योजना बनाउँदै हुनुहुन्छ ? प्रकृतिको हरियालीमा रमाउँदै विभिन्न प्रजातिका जडीबुटी र वनस्पतिबारे जानकारी लिन चाहनेका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली आकर्षक गन्तव्य बन्न थालेको छ । यहाँ निर्माण गरिएको ‘गौरादेवी प्राकृतिक जडीबुटी उद्यान’ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

नेपालमा पाइने अधिकांश जडीबुटीका बिरुवा रोपेर यस क्षेत्रलाई शैक्षिक अध्ययन तथा अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले उद्यान निर्माण गरिएको हो । जडीबुटी र वनस्पतिबारे जानकारी लिन तथा प्राकृतिक वातावरणमा रमाउन आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् ।

झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक बाशुराज दाहालका अनुसार उद्यानमा बिदाका दिन पाँच सयभन्दा बढी र अन्य दिनमा दुई सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।

‘करिब पाँच रोपनी क्षेत्रफलमा दुई सयभन्दा बढी प्रजातिका जडीबुटीका बिरुवा रोपिएको छ,’ दाहालले भने, ‘आगन्तुकलाई जडीबुटी, वनस्पतिलगायत बिरुवाबारे जानकारी दिन नाम र विवरणसहितका नेमप्लेट राखेका छौँ ।’

उक्त क्षेत्रलाई शैक्षिक केन्द्रका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित जडीबुटी र वनस्पति रोप्ने अभियान अघि बढाइएको उनले बताए । उद्यानमा रुद्राक्ष, कुरिलो, तेजपात, श्रीखण्ड, बेल, अश्वगन्धा, असुरो, पाखनबेद, तुलसी, नीम, बोझो, टिमुर र लोटसल्लालगायत औषधिजन्य जडीबुटी रोपिएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा उद्यान स्थापना गरिएको हो । एक करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको जडीबुटी उद्यान तथा विभिन्न भौतिक संरचनाले यहाँ आउने पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

उद्यानमा जडीबुटीका साथै हात्ती, गैँडा, बाघ, घोडालगायत जनावरका आकर्षक मूर्ति पनि निर्माण गरिएका छन् । उद्यानका सञ्चालक शङ्करप्रसाद अधिकारीका अनुसार खोलाको वरपर रहेको जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले यहाँ आउने पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

‘खोलाको वरपर रहेको जङ्गलको हरियाली र चराचुरुङ्गीको आवाजले झाँगाझोली क्षेत्रमा घुम्न आउने जोकोही पर्यटक खुसी भएर फर्किने गरेका छन्,’ अधिकारीले भने । उनका अनुसार उद्यानमा ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा रोपेर नामसहितको सुन्दर बगैँचा निर्माण गरिएको छ । जडीबुटीका बिरुवा अवलोकन गर्न आउनेलाई तिनको महत्त्वबारे जानकारी दिने गरिएको उनले बताए ।

पछिल्लो समय झाँगाझोलीमा पर्यटकको आवागमन बढेसँगै यस क्षेत्रको प्रचारप्रसार पनि हुन थालेको अधिकारीले बताए । झाँगाझोलीलाई पर्यटकीय गन्तव्यका रूपमा परिचित गराउने अभियान थालिएको उल्लेख गर्दै उनले पर्यटन प्रवर्द्धनबाट स्थानीयको जीवनस्तर सुधार गर्न सकिने बताए ।

‘गौरादेवी नेचुरल हर्बल पार्क’ का रूपमा समेत परिचित यस क्षेत्रमा रुद्र कुण्ड तथा रुद्र घण्ट मठमन्दिर रहेका छन् । पर्यटकले यहाँबाट मनोरम दृश्यको अवलोकन गर्दै मनोरञ्जन लिन सक्नेछन् । ‘पारिवारिक वातावरणमा अर्गानिक खाना र आरामदायी बसाइका लागि उत्कृष्ट गन्तव्यका रूपमा झाँगाझोलीलाई विकास गर्दै लगेका छौँ,’ अधिकारीले भने ।

तनहुँको शुक्लागण्डकी नगरपालिका र सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेका झाँगाझोली दुवै क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेका छन् । यी क्षेत्रको प्रचारप्रसार र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्न सके स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने र स्थानीयको जीवनस्तर सुधारमा सहयोग पुग्ने स्थानीयको भनाइ छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS