सेयर बजार परिसूचक (नेप्से) घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । मंगलबार ९ अंक घटेको नेप्से सूचक बुधबार करिब ५ अंकले घटेको हो ।
सेयर बजार सुधार्न अर्थ मन्त्रालयले जारी गरेको २१ बुँदे ‘सेयर बजार सुधार कार्ययोजना’ ले पनि लगानीकर्ताको मनोबल बढाउन सकेन ।
सरकारले ल्याएका कार्यायोजनालाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायले सम्बोधन समेत गरेको अवस्थामा समेत बजार सकारात्मक हुन नसकेको हो ।
त्यसपछि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बुधबार सरोकारवालासँग छलफल गरेको छ । समितिले धितोपत्र ऐन संशोधन गर्न नयाँ विधेयक संसदमा प्रस्तुत गर्न सरकारलाई निर्देशन समेत दिएको भए पनि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएन ।
बुधबार बजार सूचकसँगै कारोबार रकममा पनि आएको छ । बुधबार नेप्से परिसूचक ४.८२ अंक घटेको छ भने कारोबार रकम पनि ४ अर्ब ७६ करोडमा सीमित भएको छ । मंगलबार नेप्सेमा ५ अर्ब ३८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको थियो । बुधबार नेप्सेमा १ सय ९ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यसैगरी १३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । बुधबार नेप्सेमा कारोबार भएका सेयरमध्ये सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । बैंकको प्रतिकित्ता सेयर मूल्य १४.३७ प्रतिशतले बढेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९७, विकास बैंक २७.०७, वित्त ७.३७, होटल ३८.२०, लगानी ०.१८, जीवन बीमा ४२.०३, उत्पादनमूलक २६.५८, लघुवित्त १.७२, निजर्जीवन बीमा १६.१२ र अन्य ४.०६ अंकले घटेका छन् ।
त्यसैगरी व्यापार ३८, सामूहिक लगानी कोष ०.०५ र जलविद्युत् ०.७० अंक बढेका छन् ।अनलाइनखबर














