बाजुरा, साउन ११ गते । साउन लागेसँगै बाजुराका स्थानीय कामको खोजीमा भारत जाने क्रम बढेको छ। असारमा धान रोपाइँ सकेसँगै यहाँका युवा–युवती रोजगारीका लागि भारत जान थालेपछि नेपाल–भारत सीमा नाकामा नेपालीको भीड लाग्न थालेको हो।
गत जेठमा असार खेती गर्न घर आएको बताउँदै बुढीनन्दा नगरपालिका–३ का अर्जुन रोकायाले अहिले खेती लगाएर पुनः रोजगारीका लागि भारत जान लागेको बताउनुभयो।
उहाँले भन्नुभयो, “गाउँमा बस्ने रहर त कसलाई हुँदैन र ? तर यहाँ रोजगारी छैन। भोकै बस्न सकिँदैन। त्यसैले अरू कुनै विकल्प नभएपछि भारत जान लागेको हुँ।”
असारमा धान रोपाइँ गर्न घर आउने र साउनमा पैसा कमाउन भारत जाने यहाँका धेरैको बाध्यता बनेको छ। फेरि असारमा लगाएको खेती भित्र्याउन असोजमा गाउँ फर्किने गरेको रोकायाले बताउनुभयो।
बाजुरामा मङ्सिर–पुस र साउनमा रोजगारीका लागि भारत जाने पुरानै चलन हो। कामको खोजीमा भारत जाने प्रवृत्ति अहिलेका युवामा मात्र नभई अघिल्लो पुस्तादेखि नै चल्दै आएको छ।
पहिले गाउँमा सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधा नहुँदा उपचार तथा रोजगारीका लागि भारत जाने चलन थियो। अहिले गाउँमा सडक, शिक्षा, स्वास्थ्यलगायतका सुविधा विस्तार भए पनि रोजगारीको अभावमा भारत जाने क्रम रोकिएको छैन।
पहिले पुरुष मात्र रोजगारीका लागि भारत जाने गरे पनि पछिल्लो समय महिला पनि रोजगारीका लागि भारत जान थालेका छन्। श्रीमान्–श्रीमती दुवै भारत जाने र छोराछोरी पढाइका लागि सहरतिर जाने क्रम बढेपछि गाउँबस्ती सुनसान बन्दै गएका छन्।
बुढीगङ्गा नगरपालिका–१० बदेडाका खम्म सार्कीले गाउँमा बसेर परिवार पाल्न नसकिने भएपछि परिवारसहित भारत जान लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “खेती गरौँ भने गाउँमा सिँचाइ सुविधा छैन। वर्षाको आकाशे पानीको भरमा लगाएको खेती पनि बाँदरले सखाप पारिदिन्छ।”
गाउँमा केही गरी बस्ने अवस्था नभएपछि घर छोडेर परिवारसहित रोजगारीका लागि भारत जान लागेको उहाँले बताउनुभयो।
जिल्लाका बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदह, गौमूल, बडीमालिका, बुढीनन्दा, स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकाका अधिकांश युवा–युवती असार खेती सकेर रोजगारीका लागि भारतका विभिन्न ठाउँ जान थालेका छन्।
स्थानीय सरकारले बेरोजगार युवालाई गाउँमै रोक्ने उद्देश्यले हरेक वर्ष कृषि कार्यक्रम सञ्चालन गर्ने बताए पनि त्यसबाट अपेक्षित लाभ नपाएपछि युवाहरू भारत जान बाध्य भएको स्थानीयको भनाइ छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले हिउँदमा केही समय काम दिने गरे पनि वर्षायाममा अन्य रोजगारीका अवसर नहुँदा युवा भारत जानुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।
यस वर्ष असार खेती सकेर भारत जानेको संख्या गत वर्षको तुलनामा बढेको छ। दैनिक चार–पाँच सयको हाराहारीमा युवा गाउँबाट बाहिरिने गरेको बाम्का बजारस्थित टिकट काउन्टरका इन्चार्ज जनक बुढाले बताउनुभयो। उहाँका अनुसार तीमध्ये एक–दुई सयभन्दा बढी भारत जाने गरेका छन्।
राष्ट्रिय जनगणना २०७८ अनुसार बडीमालिकामा तीन हजार ४४६, त्रिवेणीमा तीन हजार ३५०, बुढीगङ्गामा चार हजार २७७, बुढीनन्दामा तीन हजार ४५२, गौमूलमा एक हजार ६५०, हिमालीमा एक हजार ७२२, जगन्नाथमा एक हजार ६८४, स्वामीकार्तिकमा दुई हजार २२३ र खप्तड छेडेदहमा तीन हजार १७४ गरी जिल्लामा २४ हजार ४४३ घरपरिवार बसोबास गर्दै आएका छन्।
यीमध्ये धेरै परिवार अहिले भारतमा बस्दै आएका छन्। लामो समयसम्म घर बन्द हुँदा कतिपय घर भत्किन थालेका छन्। परिवार नै बाहिर बस्न थालेपछि गाउँबस्ती सुनसान बन्दै गएको स्थानीय बताउँछन्।
स्थानीय सरकारले मात्र युवालाई रोजगारी दिन सम्भव नभएकाले प्रदेश र सङ्घीय सरकारले समेत युवामुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने बुढीनन्दा नगरपालिका उपप्रमुख रामबहादुर बोहराले बताउनुभयो।
साभार:गोरखापत्र अनलाईन















