images
images

तीन लाख पुरस्कारको घोडा दौडमा मुखिया गुरूङ च्याम्पियन

images

मुक्तिनाथ (मुस्ताङ), साउन ११ गते । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१,चराङमा आयोजित धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्वमा आयोजित कदम घोडा दौड प्रतियोगितामा छिमेकी जिल्ला मनाङका मुखिया गुरूङ विजय हुनुभएको छ ।

पछिल्लो समय उफ्रिएर दौडिने कदम घोडा दौड जनशक्तीको अभावले लोप हुन थालेपछि जनप्रिय युवा क्लव पुराङ रानीपौवाले संरक्षण तथा प्रचारप्रसारका लागि सुरू गरेको प्रतियोगितामा ३९ प्रतिस्पर्धीलाई उछिन्दै मनाङका मुखिया गुरूङको ‘पन्ध्र’ नामक घोडा च्याम्पियन बनेको चराङका वडा अध्यक्ष टै धुन्टु ठकुरीले बताउनुभयो ।

प्रतियोगितामा लोमन्थाङका पेमा आङ्ग्या बिष्ट दोस्रो र वाङ्दी साङ्वो गुरूङ तेस्रो हुनुभएको छ । प्रतियोगिताका विजेताले क्रमश ३ लाख, दुई लाख र एक लाख रूपियाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा घोडाको सिंगार, जातीय मौलिकता,घोडाको कुद्ने शैलीको आधारलाई समेत मुल्याङ्कन गर्ने गरिन्छ ।

कदम र लामो दूरीको साहसिक घोडा दौड प्रतियोगिताकै आर्कषक मानिन्छ । यसैबीच सोही अवसरमा भार्का घोडा दौड प्रतियोगितामा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकका विवेक मगरले उपाधि जित्नुभएको छ । प्रतियोगितामा कुल २६ प्रतिस्पधीमा मगरको घोडा च्याम्पियन भएको छ ।

प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र–१,झारकोटका नम्डुल गुरुङ उपविजेता र घरपझोङ गाउँपालिका–५ का सुजन तामाङ तेस्रो स्थान भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश डेढ लाख, एक लाख र पचास हजार रूपियाँ पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रतियोगितामा मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिङ्गी पलवर बिष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल बिष्टसहित जिल्लाका सबै स्थानीय तहका प्रमुखसहितको उपस्थिती रहेको थियो ।

मुस्ताङको सांस्कृतिक पर्व पुर्खाले दिएको सुन्दर उपहारको रुपमा लिने गरिन्छ भने घोडा घरायसी काम र मान्छेलाई बोक्ने साधन मात्रै नभई सांस्कृतिक पर्वको आर्कषकको रुपमा प्रतियोगितामार्फत समेत संरक्षणको पहल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्यायले बताउनुभयो ।

घोडालाई शक्ति र दृढताको प्रतीक भएकाले प्रतियोगिताले समुदायको समेत आत्मबल, उर्जा, र कठिन परिस्थितिहरूसँग लड्ने क्षमतालाई बलियो बनाउने भएकाले प्रतियोगिताको अवलोकन गर्न मुस्ताङका विभिन्न क्षेत्रबाट स्थानीय समेत पुग्ने गरेका छन् ।

पर्वको अवसरमा घोडा दौड,तारा खेल्ने, फुटबल प्रतियोगिता, कार्यक्रम,मौलिक भेषभुषाको पहिरनमा सजिएर सांस्कृतिक कार्यक्रम सहित विविध कार्यक्रम गर्ने गरिएको छ ।

साभार:गोरखापत्र अनलाईन

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS