तनहुँ
किसानको पसिना, सहकारीको लगानी र गुणस्तरीय दुग्ध उत्पादनलाई बजारसँग जोड्ने नयाँ पहल
बिहान सबेरै गाउँका गोठबाट दुहिएको ताजा दूध अब बिचौलियाको भर पर्नुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ। किसानले उत्पादन गरेको दूधलाई गुणस्तरीय रूपमा प्रशोधन गरी उपभोक्ताको भान्सासम्म प्रत्यक्ष पुर्याउने उद्देश्यका साथ तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले व्यास नगरपालिका–४ को हरिओम टोलमा ‘डेरी मार्ट’ सञ्चालनमा ल्याएको छ।
केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्मरबहादुर कुँवर८ र व्यास नगरपालिका–४ का वडाध्यक्षले संयुक्त रूपमा रिबन काटेर डेरी मार्टको उद्घाटन गरेका हुन्। डेरी मार्ट सञ्चालनसँगै स्थानीय किसानको दूधलाई थप सहज बजार उपलब्ध हुने र उपभोक्ताले एकै स्थानबाट ताजा तथा गुणस्तरीय दुग्धजन्य पदार्थ प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
संघका अध्यक्ष तुलसीराम सापकोटाका अनुसार डेरी मार्ट केवल बिक्री केन्द्र मात्र नभई स्थानीय किसान र उपभोक्ताबीच विश्वासको पुल हो। उनका अनुसार संघले उत्पादन गरेको दूध र दुग्धजन्य पदार्थ तनहुँका विभिन्न स्थानका साथै लमजुङको बेँसीशहरसम्म बिक्री हुँदै आएको छ। अब नयाँ बिक्री केन्द्र सञ्चालनमा आएपछि बजार विस्तार अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
दैनिक १३ हजार लिटर दूध संकलन
तनहुँ जिल्लाका विभिन्न दुग्ध सहकारीमार्फत संघले दैनिक करिब १३ हजार लिटर दूध संकलन गर्दै आएको छ। जिल्लाभर २० वटा दुग्ध सहकारी भए पनि हाल १४ वटा सहकारीले नियमित रूपमा दूध संकलन गरिरहेका छन्। संकलित दूधमध्ये करिब ७ हजार लिटर दूध संघले प्रत्यक्ष बिक्री गर्ने गरेको छ । करिब ३ हजार लिटर आफ्नै दुग्ध प्रशोधन उद्योगमा प्रशोधन गरिन्छ। प्रशोधनपछि दूधसँगै दही, मोही, नौनी, पनीरलगायतका दुग्धजन्य पदार्थ उत्पादन गरी बजारमा पठाइन्छ। बाँकी ६ हजार लिटर जति दुध पोखराको निजि डेरीमा पठाइने गरेको छ ।
दूधबाट दानासम्म, सहकारीको बहुआयामिक यात्रा
दुग्ध व्यवसायमा मात्र सीमित नरही संघले पशु दाना उद्योग८ समेत सञ्चालन गरिरहेको छ। किसानलाई सुपथ मूल्यमा गुणस्तरीय पशु दाना उपलब्ध गराउँदै उत्पादन लागत घटाउन सहयोग गरिरहेको संघको दाबी छ। यसले किसानलाई दूध उत्पादन बढाउन थप हौसला मिलेको छ।
संघले प्रत्यक्ष रूपमा २९ जनालाई रोजगारी८८ दिएको छ भने सयौं दुग्ध किसानहरू यसमार्फत स्वरोजगार बनेका छन्। ग्रामीण अर्थतन्त्रमा सहकारीले खेलेको भूमिकाको यो एउटा सशक्त उदाहरण बनेको छ।
तीन दशकको यात्रामा सहकारी
२०५३ सालमा स्थापना भएको तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले सुरुवाती वर्षहरूमा दूध संकलनमा केन्द्रित रहे पनि समयसँगै आफ्नो दायरा विस्तार गर्दै गएको छ। २०७० सालमा दुग्ध प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको संघले २०७५ सालदेखि पशु दाना उद्योग सञ्चालन गरी किसानलाई एकीकृत सेवा प्रदान गर्दै आएको छ। संघले अहिले जिल्लाका चार स्थान र बेँसीशहरमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ। डेरी मार्ट सञ्चालनपछि बिक्री सञ्जाल अझ विस्तार गर्ने तयारी गरिएको छ।
अध्यक्ष सापकोटाका अनुसार संघको मुख्य प्राथमिकता उच्च गुणस्तरका दूध तथा दुग्धजन्य पदार्थ उत्पादन र उपभोक्तासम्म सुरक्षित रूपमा पुर्याउनु हो। स्थानीय किसानले उत्पादन गरेको दूधलाई आधुनिक प्रशोधन प्रक्रियाबाट तयार पारिएकाले उपभोक्ताले ताजा र विश्वासिलो उत्पादन पाउने उनको भनाइ छ।
सहकारीमार्फत किसानको उत्पादनले सुनिश्चित बजार पाउनु, स्थानीय स्तरमै प्रशोधन उद्योग सञ्चालन हुनु, रोजगारी सिर्जना हुनु र उपभोक्ताले गुणस्तरीय उत्पादन सहज रूपमा प्राप्त गर्नु—यी सबै पक्षले डेरी मार्टलाई केवल व्यापारिक केन्द्र नभई स्थानीय कृषि अर्थतन्त्रलाई मजबुत बनाउने अभियान का रूपमा स्थापित गरेको छ। तनहुँमा दूध उत्पादन बढ्दै गएको वर्तमान अवस्थामा डेरी मार्टको सञ्चालनले किसानको उत्पादनलाई मूल्य अभिवृद्धि गर्दै सहकारी आन्दोलनलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।















