दमौली, साउन ८ । तनहुँ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले जनभावनालाई सम्मान गर्दै स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने तलब–भत्ता तथा अन्य सुविधा नलिने घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा सांसद न्यौपानेले तनहुँ–२ मा भएको जनसम्वादका क्रममा स्वकीय सचिवको सरकारी सुविधा नलिनुपर्ने जनचाहना आफूले प्रत्यक्ष रूपमा महसुस गरेको उल्लेख गरेका छन्। सोही जनमतलाई सम्मान गर्दै सरकारले उपलब्ध गराउने स्वकीय सचिवको सुविधा नलिने निर्णय गरेको उनले बताएका छन्।
न्यौपानेले यो आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पार्दै यसबाट कसैलाई असहजता वा मर्का पर्न गएमा क्षमायाचना समेत गरेका छन्। जनताको विश्वास र सेवाभाव नै आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी रहेको उनको भनाइ छ।
सांसद न्यौपानेको यो निर्णयलाई सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने तथा जनभावनालाई प्राथमिकता दिने कदमका रूपमा हेरिएको छ। उनले जनप्रतिनिधिको जिम्मेवारी जनताको अपेक्षा र विश्वासअनुसार निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।















