काठमाडौँ । आजदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ र वितरणको प्रणाली सुरु भए लगत्तै देशभर प्राविधिक समस्या देखिएको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध आउँदा सेवाग्राहीले सास्ती व्यहोर्नु परेको हो ।
राहदानी विभागले सोमबारदेखि नयाँ प्रणालीमार्फत सेवा सुरु गरेको घोषणा गरे पनि देशका विभिन्न जिल्लाहरूमा यो प्रणालीले काम गर्न सकेको छैन । प्राप्त जानकारी अनुसार पाल्पा, अर्घाखाँची, बैतडी, महोत्तरी, काभ्रे, उदयपुर, बारा र म्याग्दी लगायतका जिल्लाहरूमा पासवर्ड र प्रणालीमा समस्या देखिएको छ ।
प्राविधिक समस्या देखिँदा त्रिपुरेश्वरस्थित विभागमा समेत सेवाग्राहीको ठुलो भीड लागेको छ भने नयाँ सिस्टमले काम नगर्दा पुरानो प्रणाली विस्थापित गर्ने सरकारी लक्ष्यमा सुरुवातमै धक्का लागेको छ । कतिपय जिल्लामा पासवर्डले काम नगरेको र कतिपय ठाउँमा सिस्टम नै ‘डाउन’ भएको बताइएको छ ।
दुई नाबालकबाट सुरु भएको थियो छपाइ
परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार बिहान दुई जना नाबालकको पासपोर्ट छपाइ गरेर नयाँ प्रणालीको उद्घाटन गरेका थिए । विभागले करिब एक करोड नेपालीको डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न भएको दाबी गरे पनि फिल्डमा भने त्यसको प्रभाव उल्टो देखिएको हो । सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमियाले गर्दै आएको काम अहिले जर्मन कम्पनीको हातमा पुगेको हो ।
विवाद र दबाबबिच काम सुरु
यो ठेक्का प्रक्रिया सुरुदेखि नै विवादित रहेको थियो । प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले यसमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि दबाब दिएको थियो । तर, अन्तर्राष्ट्रिय सम्झौता र प्राविधिक जटिलताका कारण बालेन सरकार ठेक्का रद्द गर्ने निर्णयबाट पछि हटेको थियो ।
विभाग भन्छ : ‘प्राविधिक चुनौती स्वाभाविक हो
विभागले प्रणालीमा समस्या देखिएको स्वीकार गर्दै सुरुवाती दिनमा यस्ता चुनौती आउनु स्वाभाविक भएको बताएको छ । विभागकी उपनिर्देशक सोनु थापाले प्राविधिक टोली र विदेशी विशेषज्ञहरूले चौबीसै घण्टा प्रणाली सुधारमा खटिएको बताइन् ।रातोपाटी















