images
images

१२ कक्षाको नतिजा ४० दिनमै : उत्तीर्ण ८.५८ प्रत

images

काठमाडौं । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा ८.५८ प्रतिशतले सुधार आएको छ । २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । गत वर्ष ६१.१७ प्रतिशत ग्रेडेड भएका थिए ।

यो वर्ष नतिजामा सुधार आएको छ । गत वर्षभन्दा ८.५८ प्रतिशतले बढेको छ,’ राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले भने, ‘प्रश्नपत्र निर्माणदेखि परीक्षणसम्म तालिम दिएका थियौं ।’

उत्तीर्ण प्रशित बढ्नुको एउटैमा मात्र कारण नरहेको बताउँछन् उनी । ‘मुलत: विद्यार्थीले पढेको हो । शिक्षकले राम्रोसँग पढाएको हो,’ उनले भने, ‘नतिजा सुधारमा सबै स्टेकहोल्डरको महत्त्वपूर्ण भूमिका छ ।’

विद्यार्थीलाई पहिले नै नमुना प्रश्नपत्रबाट तयारी गराउँदा पनि नतिजामा सुधार आएको भनाइ बोर्डको छ । ‘प्रश्नपत्रमा सुधार र विद्यालयको मिहिनेत हो,’ उनले भने ।

कसले कति जीपीए ल्याए ?

कक्षा १२ मा नियमिततर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएकामा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् । १ लाख ४७१ जना ननग्रेड भएका छन् ।

जसमा ३.६१ देखि ४ जीपीए ल्याउने १७ हजार ७८६ जना ग्रेडेड भएका छन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने ६४ हजार ८२१ जना ग्रेडेड भएका छन् ।

२.८१ देखि ३.२० सम्म ९४ हजार २४९ जना विद्यार्थी ग्रेडेड भएका छन् ।

 

 

त्यसैगरी २.४१ देखि २.८० सम्म जीपीए ल्याउनेको संख्या ५० हजार ५९७ छ ।

२.०१ देखि २.४० जीपीए ल्याउनेको संख्या ४ हजार ३०८ र १.६१ देखि २ सम्म जीपीए ल्याउनेको संख्या ९ जना रहेको छ ।

आंशिकतर्फ ८५ हजार ९२९ जना विद्यार्थी सहभागी भएका थिए । जसमा ३६ हजार ४२० जना ग्रेडेड भएका छन् । यो आंशिकतर्फ मात्र ४२.३८ प्रतिशत ग्रेडेड भएका छन् ।

समग्रमा नियमित र आंशिक गरी ४ लाख १८ हजार १७० जना विद्यार्थीले परीक्षा दिएका थिए । नियमित र आंशिक जोड्दा भने ग्रेडेड प्रतिशत ६४.१३ प्रतिशत हुन्छ ।

नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको छ ।

बोर्डले प्रदेशगत नतिजा भने सार्वजनिक गरेको छैन । नेपालभर १४२० र जापानमा एकसमेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्रबाट परीक्षा भएको थियो ।

 

 

४० दिनमा नतिजा

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ४० दिनमा नतिजा सार्वजनिक गरेको छ । सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बोर्डले ४५ दिनअघि नै नतिजा सार्वजनिक गरेको हो ।

‘रात–दिन भनेर काम गरियो । सबैको मिहिनेतमा छिटो सार्वजनिक गरिएको हो,’ सदस्यसचिव अर्यालले भने, ‘उत्तरपुस्तिका संकलन गरेर परीक्षण केन्द्रबाट परीक्षण गरिएको हो । शिक्षकहरूले उत्तरपुस्तिका समयमा परीक्षण गर्नुभएकाले सम्भव भएको हो ।’

यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को भने परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । र, २९ दिनमा नतिजा सार्वजनिक गरिएको थियो ।

पुनर्योगका लागि एक हप्ताभित्र निवेदन दिनुपर्ने, १५ दिनपछि प्रमाणपत्र लिन पाइने

अब कक्षा १२ को नतिजा प्रकाशन भएको मितिले १५ दिन पश्चात् ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रको रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।

परीक्षाफल प्रकाशन पश्चात् आफूले प्राप्त गरेको कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीहरूले परीक्षाफल प्रकाशन भएको मितिले सात दिन (२०८३ असार ६ गते बिहान ११ बजेदेखि १२ गते साँझ ५ बजेसम्म) भित्र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np मार्फत आवेदन दिनुपर्नेछ । पुनर्योगका लागि प्रति विषय १ हजार रुपैयाँका दरले अनलाइनमार्फत दस्तुर बुझाउन सकिने बोर्डले जनाएको छ ।

६ महिनाभित्र त्रुटि सच्याउन पाइने

परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि (स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम थर, रजिस्ट्रेसन नम्बर फरक पर्ने आदि) देखिएमा बोर्डका सम्बन्धित कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न बोर्डले भनेको छ ।

नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन् ग्रेडेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पूरक) परीक्षामा सहभागी हुन पाउने छन् ।

यस सम्बन्धी विस्तृत जानकारी मौका (पूरक) परीक्षाको समयतालिका सम्बन्धी सूचनामा पछि उल्लेख गरिने बोर्डले जनाएको छ ।अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS