images
images

व्यासको बैरेनीको जग्गा विकास आयोजनाको दोस्रो चरणका लागि प्रक्रिया सुरु

images

तनहुँ, असार १ गते ।तनहुँको व्यास नगरपालिका–१० मा सञ्चालित बैरेनी जग्गा विकास आयोजना पहिलो चरण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको बृहत्तर विस्तार प्रक्रिया अघि बढाइएको छ ।

साविक फराकचौर क्षेत्रको करिब एक हजार ३६० रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीको रायसुझाव र सहमति सङ्कलन कार्य सुरु गरेको हो ।

नगरपालिकाले दीर्घकालीन, योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढाएको हो । बस्तीले साँघुरिँदै गएको सदरमुकाम दमौलीलाई व्यवस्थित शहरी स्वरूपमा रूपान्तरण गर्ने र भविष्यको नमुना सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काम अघि बढाइएको व्यास नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढाइएको बताए।

न्यौपानेले भने , “सदरमुकाम दमौली आसपासको अव्यवस्थित शहरीकरणलाई नियन्त्रण गर्दै योजनाबद्ध, सुरक्षित र आधुनिक सहर निर्माण गर्ने हाम्रो स्पष्ट लक्ष्य हो ।”

पहिलो चरणको प्रगतिले जनविश्वास बढाएको छ, त्यसैको आधारमा दोस्रो चरणलाई अघि बढाइएको न्यौपानेले  बताए। यो आयोजना केवल पूर्वाधार निर्माण मात्र होइन, व्यास नगरपालिकाको दीर्घकालीन शहरी रूपान्तरणको आधारशिला भएको उहाँको भनाइ छ ।

न्यौपानेका अनुसार स्थानीयवासीको सकारात्मक सहभागिता, नगरपालिकाको नेतृत्व र सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगका कारण आयोजना प्रभावकारी रूपमा अघि बढिरहेको छ ।

दोस्रो चरणको प्रक्रिया स्थानीय बृहत्तर वैरेनी एकीकृत जग्गा विकास परियोजना समितिको माग तथा शहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा अघि बढाइएको हो।

प्रारम्भिक अध्ययन अरनिको डिजाइनर्स एण्ड प्लानर्स प्रा।लि।ले सम्पन्न गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले आयोजना सञ्चालनका सम्बन्धमा कुनै असहमति वा सुझाव भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाधनी प्रमाणपत्र र नागरिकताको प्रतिलिपिसहित लिखित निवेदन पेस गर्न सार्वजनिक आह्वान गरेको छ ।

तोकिएको अवधिभित्र कुनै असहमति नपरेमा आयोजनामा सम्बन्धित पक्षको स्वतः सहमति रहेको मानिने नगरपालिकाले स्पष्ट पारेको छ ।

यसअघि गुरुयोजनाअनुसार कुल एक हजार पाँच  सय रोपनी क्षेत्रलाई लक्षित गरी आयोजना डिजाइन गरिएकोमा पहिलो चरणमा २६१ रोपनी क्षेत्रमा काम भइरहेको छ ।

सो कार्य हालसम्म ८५ प्रतिशत सम्पन्न भइसकेको छ । पहिलो चरणको प्रगति र पूर्वाधार विकासपछि स्थानीय जग्गाधनीहरू दोस्रो चरणमा समेटिन इच्छुक बनेका हुन् ।

व्यास–१० का निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाका अनुसार सुरुवाती चरणमा केही अन्योल र विरोध भए पनि अहिले आयोजना सफलतापूर्वक अघि बढेकाले स्थानीयवासीमा सकारात्मक धारणा बनेको छ ।

कुल नौ करोड २४ लाख ७० हजार रुपैयाँ लागतमा पहिलो चरणको काम सञ्चालन भइरहेको यस आयोजनामा नगर विकास कोषको ७० प्रतिशत ऋण तथा गण्डकी प्रदेश र व्यास नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ ।

पहिलो चरणअन्तर्गत सडक सञ्जाल, टेवा पर्खाल र ढल निकासको अधिकांश काम सम्पन्न भइसकेको छ भने खानेपानी लाइन विस्तार र ढल नालाको कभर स्ल्याब निर्माण अन्तिम चरणमा पुगेको छ ।

विद्युत् प्रसारण लाइन विस्तारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ ।आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रविन्द्रलाल मूलका अनुसार पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्यसहित तीव्र रूपमा अघि बढाइएको छ ।

मूलले भने , “सुरुवाती केही चुनौती भए पनि अहिले आयोजना जनस्तरमै स्वीकृत भइसकेको छ । आधुनिक सहरको स्वरूप देखिन थालेपछि स्थानीय उत्साह थपिएको छ र दोस्रो चरणको माग पनि बढेको छ। बाँकी काम समयमै सम्पन्न गर्ने गरी हामी निरन्तर काममा छौँ ।”

नगरपालिकाले यो आयोजना काठमाडौँ उपत्यका बाहिरको पहिलो व्यवस्थित जग्गा विकास मोडेलका रूपमा स्थापित हुँदै गएको जनाएको छ ।हाल यो क्षेत्र प्राविधिक अध्ययन तथा अवलोकनको केन्द्रका रूपमा समेत विकसित हुँदै गएको छ मुलले जानकारी दिए।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS