दमौली, ३० जेठ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदनले तनहुँको म्याग्दे गाउँपालिकामा वित्तीय व्यवस्थापन, लेखा प्रणाली तथा बेरुजु फछ्र्योटमा सुधार आवश्यक रहेको औँल्याएको छ । प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको कुल अद्यावधिक बेरुजु ९ करोड ७ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।
गत बर्ष सम्म ६ करोड ६७ लाख १६ हजार बेरुजु रहेकोमा २ करोड ४० लाख ४० हजार रुपयाँ थप भएको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन उल्लेख गरिएको छ । विगतका वर्षहरूको बाँकी बेरुजु र चालु आर्थिक वर्षमा थपिएको बेरुजु जोड्दा गाउँपालिकाको कुल अद्यावधिक बेरुजु ९ करोड ७ लाख ५६ हजार रुपैयाँ कायम भएको हो । आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाको १ अर्ब २९ करोड १६ लाख ३० हजार रुपैयाँ बराबरको आय–व्ययको लेखापरीक्षण गरिएको थियो। सो क्रममा २ करोड ४० लाख ४० हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
देखिएको बेरुजुमध्ये ९७ लाख १६ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने, १२ लाख ७५ हजार रुपैयाँ नियमित गर्नुपर्ने तथा ६६ लाख ५० हजार, ६३ लाख ९९ हजार पेश्की बाँकी रुपैयाँ बराबरको खर्चको प्रमाण कागजात पेश गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।लेखापरीक्षण प्रतिवेदनमा नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुसार तयार गर्नुपर्ने वित्तीय विवरणमा अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विभिन्न कोषसँग सम्बन्धित कारोबार समावेश नगरिएको उल्लेख गरिएको छ । गाउँपालिकाको वित्तीय अवस्थाको यथार्थ चित्र पूर्ण रूपमा प्रस्तुत हुन नसकेको प्रतिवेदनको निष्कर्ष छ । प्रतिवेदनले गाउँपालिकाले नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेका कारण सम्पत्ति तथा दायित्वको वास्तविक अवस्था स्पष्ट रूपमा खुल्न नसकेको पनि औँल्याएको छ ।
लेखापरीक्षकले वित्तीय अनुशासन सुदृढ गर्दै बेरुजु फछ्र्योटलाई प्राथमिकतामा राख्न, असुलउपर गर्नुपर्ने रकम समयमै असुल गर्न तथा आवश्यक कागजात व्यवस्थित राख्न गाउँपालिकालाई सुझाव दिएको छ ।
















