दमौली, ३१ जेठ २०८३। व्यास नगरपालिका-५ चापाघाटस्थित भजन संकीर्तन समूहले सञ्चालन गरेको दिवाकालीन ज्येष्ठ नागरिक आश्रमको आयोजनामा नसर्ने रोग तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न भएको छ। प्रदेश अस्पताल दमौलीले प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रमको उद्घाटन दिवाकालीन ज्येष्ठ नागरिक आश्रमकी अध्यक्ष आईतमाया थापाको अध्यक्षतामा भयो। व्यास नगरपालिका-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ प्रमुख अतिथि र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमलामोहन वाग्ले विशिष्ट अतिथि थिए। प्रदेश अस्पतालका डा. रबिन पण्डितसहित १२ स्वास्थ्यकर्मी सहभागी थिए। संस्थाकी सचिव प्रतिमा श्रेष्ठले कार्यक्रम सञ्चालन गरिन्।
शिविरमा ७९ महिला र २३ पुरुष गरी १०२ जनाले सेवा लिए। परीक्षणमा १२ जनामा उच्च रक्तचाप र ५ जनामा मधुमेह देखियो। स्वास्थ्यकर्मीले ती सबैलाई थप परीक्षण र उपचारका लागि प्रदेश अस्पताल दमौली जान सल्लाह दिए।
५५ महिलाको पाठेघरको मुखको क्यान्सर VIA स्क्रिनिङ गरियो। सबैको नतिजा सामान्य रह्यो। कसैमा पनि क्यान्सरको जोखिम देखिएन।
नर्सिङ अधिकृत रेमना श्रेष्ठले रजोनिवृत्तिपछि महिलामा देखिने स्वास्थ्य समस्या र स्तन क्यान्सरको स्व-परीक्षण विधिबारे प्रशिक्षण दिइन्।
डा. रबिन पण्डितले नियमित रक्तचाप र रगतको चिनी परीक्षण गर्न सुझाव दिए। उनले वर्षमा कम्तीमा एक पटक मुटुको ECG गराउन पनि भने। चिकित्सकको सल्लाहबिना औषधि नखान, स्वस्थ खानपान अपनाउन, शारीरिक व्यायाम बढाउन र धूम्रपान तथा मद्यपान त्याग्न आग्रह गरे।
आयोजकले स्थानीय ज्येष्ठ नागरिक र सर्वसाधारणको उल्लेखनीय सहभागिताले नसर्ने रोगको रोकथाम, समयमै पहिचान र स्वास्थ्य सचेतना बढाउन योगदान पुर्याएको बताए।


सुशील लामगादे बि.क. 












